म्याग्दी । म्याग्दीमा अर्जुन थापाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । थापा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट म्याग्दीबाट उम्मेदवार बनेका हुन् । थापाले बेथिति, ढिलासुस्तीविरुद्ध खरो उत्रन र विकासमा म्याग्दीको कायापलट गर्न आफूले उम्मेदवार दिएको बताएका हुन् ।
थापाले भने, “प्रशासनिक कामदेखि विकास निर्माणसम्म ढिलासुस्ती हुँदा म्याग्दी सधैँ पछाडि परिरह्यो, म्याग्दीवासीको सेवकका रूपमा मैले त्यो टुलुटुलु हेरिरहन सकिन् । त्यसैले यी सबै कुराविरुद्ध खरो उत्रिँदै विकासमा म्याग्दीको कायापलट गर्न उम्मेदवारी दिएको हुँ ।”
थापाले आफू समाजसेवामार्फत म्याग्दीको जनताको सेवामा रमाइरहेको भए पनि स्थानीयकै लगातारको आग्रह र जोडबलमा चुनावी मैदानमा आएको समेत बताए । थापाले जनताले निर्वाचित गराएको खण्डमा म्याग्दीको सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणमा अहोरात्र खट्ने समेत घोषणा गरे ।
“म्याग्दी कृषि, पर्यटन, जलविद्युत जस्ता कुरामा अथाह सम्भावना बोकेको जिल्ला हो । तर पूर्वाधारको अभावसँगै हालसम्म निर्वाचित सङ्घीय सांसदहरूको असक्षमता र केन्द्रको उपेक्षाको कारण म्याग्दीले त्यो सम्भावनालाई प्रस्फुटन गर्न पाएन,” थापाले भने, “म यी सबै कुरा कसरी गर्ने भन्ने विस्तृत योजनासहित नै अघि बढेको छु ।”
अर्थ राजनीतिको विद्यार्थी भएकाले आफूले म्याग्दीसँगै देशको अर्थ राजनीति, भूराजनीति र भ्रष्टाचारको जराहरूको राम्रोसँग अध्ययन गरेकाले म्याग्दीवासीको सान बढाउने गरी सङ्घीय संसद्मा प्रस्तुत हुने थापाको भनाई छ ।
प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ का लागि तोकिएको छ । म्याग्दीमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।