काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशभर बढेको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि मङ्गलबार भएको मनोनयन दर्तामा उत्साहजनक सहभागिता देखिएको छ ।
निर्वाचन आयोगका अनुसार देशभरबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कूल उम्मेदवारमध्ये ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यसपटक प्रमुख दलहरूबीच केन्द्रीयस्तरको चुनावी गठबन्धन नहुँदा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सबै १६५ क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेकपाले १६४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६३ क्षेत्रमा आफ्ना उम्मेदवार उठाएका छन् ।
चर्चित अनुहार र ‘हेभिवेट’ भिडन्त
यसपटकको निर्वाचनमा केही क्षेत्रहरू निकै चर्चाको केन्द्रमा रहेका छन्, जहाँ स्थापित नेता र नयाँ उचाइ बनाएका उम्मेदवारबीच प्रत्यक्ष टक्कर हुँदैछ ।
झापा–५ : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपाका बालेन्द्र शाह मैदानमा उत्रिएका छन् । यो भिडन्तलाई यस निर्वाचनकै सबैभन्दा रोचक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
सर्लाही–४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका अमरेश सिंहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गुल्मी–१ : यहाँ त्रिपक्षीय भिडन्तको आँकलन गरिएको छ । कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रदीप ज्ञवाली र रास्वपाका सागर ढकालबीच प्रतिस्पर्धा हुँदैछ ।
चितवन–३ : नेपाली कम्युनिष्ट पार्टीबाट रेणु दाहाल र रास्वपाबाट सोविता गौतम चुनावी मैदानमा छन् ।
गोरखा–२ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमालेका मिलन गुरुङ र रास्वपाका कबिन्द्र बुर्लाकोटीबीच प्रतिस्पर्धा हुनेछ । (गुन्डाराजमा कहलिएका ‘चक्रे मिलन’ भनिने मिलन गुरुङ २०५० को दशकदेखि नै अपराध दुनियाँमा सक्रिय रहने गरेका थिए ।)
भक्तपुर–२ : एमालेका प्रभावशाली नेता महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीच प्रतिस्पर्धा हुन लागेको छ ।
जुम्ला : जुम्लामा यस पटक रास्वपा नेतृ विनिता कठायत र राप्रपा नेता ज्ञानेन्द्र शाहीबीचको चुनावी प्रतिस्पर्धा निकै कसिलो हुने देखिएको छ ।
यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट, रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट प्रतिस्पर्धा गर्दैछन् । धरानको मेयरबाट राजीनामा दिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सुनसरी–१ बाट मैदानमा छन् ।
६ पूर्वअर्थमन्त्री चुनावी दौडमा
आर्थिक नीति र बजेट निर्माणको अनुभव बोकेका ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री यसपटक प्रत्यक्षतर्फको चुनावी मैदानमा छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई (गोरखा–२), विष्णुप्रसाद पौडेल (रुपन्देही–२), वर्षमान पुन (रोल्पा–१), जनार्दन शर्मा (रुकुम पश्चिम), ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी–४) र डा. प्रकाशशरण महत (नुवाकोट–१) बाट प्रतिस्पर्धा गर्दैछन् । यस्तै, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबरा ललितपुर–१ बाट उम्मेदवार बनेका छन् ।
यी चर्चित अनुहारहरु यो चुनावमा देखिनेछैनन्
यसपटकको निर्वाचनमा कैयौँ स्थापित र प्रभावशाली नेताहरू चुनावी दौडबाट बाहिरिएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार बनेनन् । डडेल्धुराबाट चुनाव लड्ने इच्छा देखाए पनि पार्टी सभापति गगन थापाले राखेका सर्तहरू (अदालतको मुद्दा फिर्ता वा संसदीय दलमा चुनाव नलड्ने प्रतिबद्धता) मा सहमति हुन नसकेपछि उनी बाहिरिएका हुन् । देउवाको सट्टा डडेल्धुरामा नैनसिंह महरले टिकट पाएका छन् ।
यस्तै, कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि नैतिक कारण देखाउँदै उम्मेदवारी दिएनन् । कांग्रेसकै उपसभापति विश्वप्रकाश शर्माले नयाँलाई अवसर दिने भन्दै पहिल्यै घोषणा गरेअनुसार उम्मेदवारी दर्ता गराएनन् । अन्य नेताहरू रमेश लेखक, बालकृष्ण खाण, डा. आरजु राणा देउवा र रामचन्द्र पौडेल पनि यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् ।
नेकपाबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसपटक चुनाव नलड्ने निर्णय लिएका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले प्युठानमा टिकट नपाएपछि र पार्टीले दिएको बर्दियामा जान अनिच्छा देखाएपछि उनी पनि मैदान बाहिरै रहे । नेकपाकै नेताहरू हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल र अग्नि सापकोटा पनि उम्मेदवार बनेनन् ।
एमालेभित्र अध्यक्ष केपी ओलीसँगको अन्तरद्वन्द्वका कारण केही प्रभावशाली नेताहरूले टिकट पाएनन् । योगेश भट्टराई, गोकुल बास्कोटा, कर्णबहादुर थापा र कृष्णगोपाल श्रेष्ठ जस्ता नेताहरू यसपटक उम्मेदवारको सूचीमा परेनन् । सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भने स्वेच्छाले नै चुनावी राजनीतिबाट विश्राम लिने घोषणा गरेका थिए ।
राप्रपाका पुराना हस्तीहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र डा. धवलशमशेर राणा पनि यसपटक चुनावी मैदानमा देखिने छैनन् । दिग्गज नेताहरूको अनुपस्थिति र नयाँ अनुहारहरूको आक्रामक उपस्थितिले यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै अनपेक्षित र रोचक हुने निश्चित छ ।