• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सडकको विद्रोहबाट संसदको यात्रा : समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा

काठमाडौं । नेपाली राजनीतिको रङ्गमञ्चमा ‘जेन–जी’ पुस्ताको एउटा बलियो हस्तक्षेप सुरु भएको छ । सडक आन्दोलनको राप र तापबाट जन्मिएका युवा अभियन्ता सोम शर्माले अब संसदीय राजनीति मार्फत अवस्था बदल्ने उद्घोष गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शर्मालाई बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै बागलुङको चुनावी सरगर्मी चुलिएको छ ।

गत भदौ २३ र २४ गते भएको ऐतिहासिक ‘जेन–जी’ आन्दोलनका क्रममा सडकको अग्रपंक्तिमा उभिएका शर्मा ती सिपाही हुन्, जसले परिवर्तनको खोजीमा आफ्नै शरीरमा गोली थापेका थिए । खुट्टामा गोली लागेर पनि नडगमगाएका तिनै विद्रोही तन्नेरी अब सडकको आवाजलाई संसद्को ‘रोस्ट्रम’ सम्म पुर्‍याउने संकल्पका साथ मैदानमा होमिएका हुन् ।

‘जित्न सक्ने’ ठाउँ होइन, ‘जित्नुपर्ने’ ठाउँको रोजाइ

शर्माका लागि बागलुङ क्षेत्र नं १ तुलनात्मक रूपमा सहज हुन सक्थ्यो । तर, रास्वपा सभापति रवि लामिछानेसँगको एउटा संवादले उनको राजनीतिक यात्राको दिशा नै मोडिदियो ।

शर्माले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार, सभापति लामिछानेले उनलाई सोधेका थिए, ‘सोम, तिम्रो जिल्लाको सबैभन्दा बढी समस्यामा रहेको र राज्यको आँखा नपुगेको क्षेत्र कुन हो ?’

शर्माले जब बागलुङ क्षेत्र नं २ को नाम लिए, तब लामिछानेले उनलाई एउटा चुनौतीपूर्ण सुझाव दिए, ‘त्यसो भए सोम, तिमी ‘जित्न सक्ने’ ठाउँ होइन, अब तिमीले ‘जित्नुपर्ने’ ठाउँमा जानुपर्छ । जहाँ तिम्रो आवाज र साथको पर्खाइमा कैयौँ मुहारहरू छन् ।’

यही संवादले शर्मालाई गलकोट, ढोरपाटन, वडिगाड, निसी, तमान र ताराखोला जस्ता विकट मानिएका बस्तीहरूमा पुगेर विद्रोहको मसाल बाल्न प्रेरित गर्‍यो ।

सहिदको रगत र ‘विकट’ को भाष्य चिर्ने कसम

शर्माको उम्मेदवारी केवल पद प्राप्तिका लागि मात्र होइन, बरु आन्दोलनका क्रममा गुमाएका साथीहरूको सपना पूरा गर्ने एउटा कसम पनि हो । आन्दोलनको क्रममा आफ्नै काखमा अन्तिम श्वास फेरेका सुलभ राज श्रेष्ठको रगत लतपतिएको तस्बिरले उनलाई आज पनि झकझक्याइरहन्छ ।

‘मैले सुलभको रगत लतपतिएको टाउको समातेर दुईवटा कसम खाएको थिएँ, तिम्रो हत्यारालाई कठघरामा ल्याउँछु र जुन सपनाका लागि तिमी लड्यौ, त्यो पूरा गर्न संसद् छिर्छु, आज मेरो उम्मेदवारी त्यही सहिदको सपना र न्यायका लागि हो’ भावुक हुँदै शर्मा भन्छन् ।

बागलुङ–२ लाई दशकौँदेखि ‘विकट’ र ‘दुर्गम’ को ट्याग भिराएर राजनीति गरिँदै आएको शर्माको बुझाइ छ । उनी यसपटक यो भाष्यलाई सदाका लागि अन्त्य गर्न चाहन्छन् । उनी भन्छन्, ‘म यहाँ भोट माग्न मात्र होइन, यो भूगोलमाथि लादिएको ‘विकट’ को भाष्य चिर्न र तपाईँका आँसुमाथि राजनीति गर्ने दिनको अन्त्य गर्न आउँदैछु ।’

सामाजिक सेवामा भिजेका अभियन्ता

सडकमा प्रश्न मात्र उठाउने होइन, गाउँबस्तीमा पुगेर सेवा गर्ने स्वभावले पनि शर्मालाई अन्य भन्दा फरक देखाएको छ । हालै उनले बागलुङका विभिन्न सामुदायिक विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई कापी, कलम, पुस्तक र झोला वितरण गरेका छन् ।

सडकमा अधिकारका लागि लड्दा उनले कयौँपटक हिरासत र कारागार भोगेका छन् ।

सामाजिक अभियन्ता तथा भ्रष्टाचार विरुद्धको अभियानका अथक यात्री शर्मा समाजका विविध विकृति र विसंगतिहरू विरुद्ध बुलन्द आवाज उठाउने एक साहसी योद्धा हुन्। राष्ट्रप्रेमले ओतप्रोत र युवाहरूका लागि प्रेरणाका स्रोत मानिएका शर्मा आफ्नो अटुट साहस र निष्ठाका कारण एक उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित छन् । जसले सधैं न्याय र सत्यको पक्षमा आफूलाई उभ्याइरहेका छन् ।