कास्की । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रभावशाली बौद्धिक युवा नेता रश्मि आचार्यलाई चुनावी मैदानमा उतारेको छ। एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्यले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएसँगै कास्कीको चुनावी सरगर्मी बढेको छ।
पोखरा महानगरपालिका वडा नं. ३३, गैरागाउँका स्थायी बासिन्दा रश्मि आचार्य नेकपा एमालेभित्रका एक प्रखर बौद्धिक र इमानदार नेताका रूपमा चिनिन्छन्। वि.सं. २०३७ भदौ ८ गते पिता रघुनाथ आचार्य र आमा रमाकुमारी आचार्यको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका उनी सानैदेखि पढाइमा अब्बल र नेतृत्वदायी स्वभावका थिए।
आचार्यको शैक्षिक पृष्ठभूमि निकै प्रभावशाली छ। स्थानीय ब्रम्हज्योति प्रा.वि. र श्री शान्ति उदय मा.वि. बाट विद्यालय शिक्षा पूरा गरेका उनले पृथ्वीनारायण क्याम्पसबाट आइ.एस.सी. र बि.बि.एस. उतिर्ण गरे। उनले त्रि.वि. बाटै राजनीति शास्त्रमा स्नातकोत्तर र एम.बि.एस. उतिर्ण गरेका छन्। नेपाल ल क्याम्पसबाट एल.एल.बी. पूरा गरी अधिवक्ताको रूपमा समेत परिचित आचार्य हाल ‘इन्टरनेशनल रिलेसन्स एण्ड डिप्लोमेसी’ मा विद्यावारिधि गरिरहेका ‘पीएचडी स्कलर’ हुन्।
वि.सं. २०५० सालदेखि २०७७ सम्म निरन्तर २७ वर्ष अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर उनले काम गरे। अनेरास्ववियुको कास्की जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष, केन्द्रीय कोषाध्यक्ष हुँदै उनी केन्द्रीय उपाध्यक्षसम्म बने। वि.सं. २०६५ मा उनले पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापतिमा निर्वाचित भएर ऐतिहासिक नेतृत्व प्रदान गरेका थिए।
वि.सं. २०५६ मा एमालेको संगठित सदस्यता प्राप्त गरेका आचार्य पार्टीको जिल्ला कमिटी सदस्य, तत्कालीन नेकपाको केन्द्रीय सदस्य, गण्डकी प्रदेश उपसचिव हुँदै एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
किन रश्मि आचार्यको उम्मेदवारी ?
उम्मेदवारी दर्तापछि आचार्यले आफ्नो चुनावी एजेण्डा र उम्मेदवारीको औचित्यबारे प्रष्ट पारेका छन्। उनका अनुसार उम्मेदवारीका मुख्य कारणहरू यस प्रकार छन्:
सार्थक विकास र परिणाममुखी राजनीति:
“अबको पालो सार्थक विकास र परिणामको” भन्ने नाराका साथ आचार्य मैदानमा आएका छन्। उनले परम्परागत विकासभन्दा पनि जनताले गौरव गर्न लायक र देखिने गरी परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन्।
नवीन सोच र योजना:
युवाहरूको नवीन सोच र योजनालाई राष्ट्रिय समृद्धिको अभियान (समृद्ध नेपाल, सुखी नेपाली) सँग जोडेर ठोस निष्कर्षमा पुर्याउनु उनको मुख्य उद्देश्य हो।
युवा नेतृत्व र अग्रजको आशिर्वाद:
देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन युवाहरूको सक्रियता अनिवार्य रहेको उल्लेख गर्दै उनले अग्रजको आशिर्वाद र युवाहरूको जोशलाई सँगै लैजाने बताएका छन्।
मतदाताको चाहना र पार्टीको विश्वास:
कास्की २ का मतदाताको इच्छा र पार्टीले सुम्पिएको समृद्धिको जिम्मेवारी पुरा गर्न आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।