काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्याैपाने, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।
उम्मेदवारी फिर्ता लिएर भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ थप प्रष्ट पार्दै उनले भने, ‘तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो ।’
सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु ।’