• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेकपाले निष्कासित गर्‍यो हरिबोल गजुरेलसहित ७ नेता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको आधिकारिक निर्णय उल्लङ्घन गरेको भन्दै नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीले तोकेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा त्यस्ता उम्मेदवारको प्रस्ताव, समर्थन र प्रचारमा संलग्न भएको भन्दै उनीहरूलाई कारबाही गरिएको नेकपाले जनाएको हो ।

निष्कासनमा पर्ने नेताहरूमा हरिबोल गजुरेलसहित सिन्धुलीका महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

सिन्धुली–२ मा नेकपाले केन्द्रबाट लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार बनाए पनि महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गरेका थिए । उनलाई गजुरेलले समर्थन गरेका थिए । पार्टी नेतृत्वले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि तोकिएको समयभित्र फिर्ता नभएपछि कारबाही प्रक्रिया अघि बढाइएको बताएको छ ।

त्यस्तै, दाङ–१ मा पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका थिए । सिराहामा धर्मनाथ साहले पार्टी परित्याग गरी एमालेबाट उम्मेदवारी दिएका कारण उनी पनि कारबाहीमा परेका छन् ।

पार्टीले जारी गरेको विज्ञप्तिमा पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कदम चालिएको बताइएको छ । विज्ञप्तिमा पार्टीको केन्द्रीय निर्णय र निर्देशन विपरीत गतिविधि गरेकाले सम्बन्धित व्यक्तिहरूलाई निष्कासन गरिएको उल्लेख छ ।

पार्टीले आगामी दिनमा पार्टी अनुशासन उल्लङ्घन गर्ने जो–कोहीमाथि यस्तै कडा कदम चालिने चेतावनी समेत दिएको छ ।