बागलुङ जिल्लाको राजनीतिक परिवेशमा यसपटक फागुन २१ गते हुने निर्वाचनले विशेष अर्थ बोकेको छ। नेकपा (एमाले)बाट बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका हिरा केसी केवल चुनावी प्रतिस्पर्धाका पात्र मात्र होइनन्, उनी संगठनबाट खारिएका र पार्टी राजनीतिमा जरा गाडेर अघि बढेका युवा नेता हुन्। हाल एमाले बागलुङ जिल्ला कमिटीका अध्यक्षसमेत रहेका केसीले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय तहसम्म एमालेको उपस्थिति मजबुत बनाउने अभियानमा निरन्तर भूमिका निभाउँदै आएका छन्।
केसीको राजनीतिक यात्रा भाषण र नाराभन्दा संगठनात्मक श्रमसँग जोडिएको छ। पार्टीका कठिन समयहरूमा समेत कार्यकर्तासँगै उभिने, गाउँ–टोलमा पुगेर पार्टीलाई जिवन्त राख्ने र अनुशासनलाई प्राथमिकता दिने उनको शैलीले उनलाई बागलुङ एमालेको भरोसायोग्य अनुहार बनाएको छ।
केसी २०७० को संविधानसभा र २०७९ को प्रदेशतर्फ उम्मेदवार बनेका थिए। दुवै निर्वाचनमा पराजित भएका केसीले यो पटकको निर्वाचन आफ्नो पक्षमा पार्ने गरि मैदानमा उत्रिएको बताएका छन्।
जिल्लामा कार्यकर्तासंगै आम मतदातामा लोकप्रिय र भूगोलमा भिजेको युवा उम्मेदवारको प्रवेशले बागलुङको राजनीति पुस्तान्तरणतर्फ उन्मुख भएको देखाउँछ। निर्वाचन परिणाम जे आए पनि, संघर्ष, समर्पण र संगठनप्रतिको निष्ठाले खारिएका केसीको भविष्य राजनीतिमा महत्वपूर्ण भूमिकामा रहने स्पष्ट देखिन्छ।
