काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहका सचिवालय सदस्य भूपदेव शाहले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा रहेको महँगो गाडीका बारेमा प्रष्टीकरण दिएका छन् । व्यवसायी कमल मालपानीसँग जोडेर बालेन साहले ८ करोडको गाडी चढेको भन्दै भइरहेको आलोचनाको खण्डन गर्दै भुपदेव शाहले उक्त गाडी भाडामा लिएको दाबी गरेका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘गाडी व्यवस्थापनका लागि हाम्रो एउटा छुट्टै लजिस्टिक टोली हुन्छ । उक्त टोलीले विभिन्न ठाउँमा जाँदा आवश्यकता अनुसार गाडीहरू भाडामा लिने गर्दछ । यो गाडी पनि सोही प्रक्रिया अन्तर्गत भाडामा लिइएको हो ।’
उनले कुनै पनि व्यापारिक घरानासँग कमिसन वा भविष्यमा कुनै व्यावसायिक साझेदारी गर्ने सर्तमा गाडी लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताए । ‘व्यापारिक घरानासँग कुनै किसिमको नेगोसिएसन भएको छैन, त्यो सम्भावना पनि छैन’, उनले थपे ।
बालेन साहले ८ करोडको गाडी नै किन चढ्नुपर्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा शाहले यो बालेनको व्यक्तिगत चाहना नभई व्यवस्थापन टोलीले तय गरेको बताए । उनले सुदूरपश्चिम भ्रमणका क्रममा नेपालगन्ज र धनगढी लगायतका क्षेत्रमा जानका लागि व्यवस्थापन टोलीले सबै पक्षलाई ध्यानमा राखेर गाडीको प्रबन्ध गरेको जानकारी दिए ।
शाहले थप विवरण व्यवस्थापन टोलीसँग बुझ्नुपर्ने बताए पनि उक्त गाडी नितान्त भाडाकै भएकोमा जोड दिए । बालेन साहले आगामी निर्वाचनमा पनि जित्ने दाबी गर्दै उनले गलत हल्लाको पछि नलाग्नसमेत आग्रह गरे ।
झापाबाट फर्किएका बालेन सोमबार सुदूरपश्चिम जाने तयारीमा छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर शनिबार फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ ।
सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । भूपदेव शाहले अछाम २ बाट र केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।