• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रिय सभा निर्वाचन : को–को भए विजयी ?

कोशीबाट राष्ट्रियसभामा मेचे र पोर्तेल निर्वाचित, थापा यसअघि नै निर्विरोध

राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट महिला/अल्पसंख्यक समूहमा रोशनी मेचे र दलित समूहमा सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन् ।

दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन तथा दलित आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् ।
उनी कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेदवार बनेका थिए । दलिततर्फ नेकपाबाट खेम सुन्दास उम्मेदवार थिए ।

उनले २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने ४७ वर्षकै उमेरमा राष्ट्रियसभा सदस्य बनेका हुन् । यसअघि उनी २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हाल एमाले प्रदेश कमिटी सदस्य रहेका पोर्तेल २०५१ सालदेखि उत्पीडित समुदायको आन्दोलनमा सक्रिय छन् । उनी मुक्ति समाज नेपालको उपमहासचिवसमेत हुन् ।

अल्पसंख्यक समूहअन्तर्गत निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । झापाको धाइजन स्थायी बासिन्दा ४३ वर्षीया मेचेले ६४ जना प्रदेशसभा सदस्य र १९९ जना स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले कूल ७ हजार १७३ मतभार प्राप्त गरिन् ।

मेचे झापामा ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि हुन् । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबारमा कार्यरत थिइन् । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । उनी मेचे भाषाका समाचार संयोजन गर्दै आएकी छन् ।

यसअघि कोशी प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनकै तर्फबाट सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

मधेशमा महिला क्लस्टरबाट एमालेकी रेखा झा

मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी हुन् । झा ७ हजार २२२ मत भारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरेकी छिन् ।

जनता समाजवादी पार्टीकी उम्मेदवार चन्द्रकला देवी साहले ३२२ मतमा सीमित भइन् ।

बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका डा. दंगाल विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशतर्फको दुई सिटका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।

कांग्रेस–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनीहरूले नेकपाका उम्मेदवारहरूलाई पराजित गरेका हुन्। ‘महिला’ क्लस्टरतर्फ कांग्रेसकी देवकोटाले ६ हजार २३९ मत प्राप्त गरिन्। उनले प्रदेश सभा सदस्यतर्फ ६० मत र स्थानीय तहतर्फ १६१ मत प्राप्त गरिन्।

देवकोटाकी निकटतम प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मत प्राप्त गरिन्। झाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाएकी हुन्। सोही क्लस्टरमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की कविता महर्जनले १९७ मत प्राप्त गरिन्। उनले प्रदेश सभातर्फ ३ र स्थानीय तहतर्फ २ मत पाइन्।

महिला क्लस्टरतर्फ प्रदेश सभा तर्फका कुल ८९ मतदातामध्ये ८८ मत सदर हुँदा स्थानीय तहतर्फ २२९ मतमध्ये २२६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, ‘अन्य’ क्लस्टरतर्फ नेकपा एमालेका डा. प्रेमप्रसाद दंगालले ६ हजार २०५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनले प्रदेश सभा सदस्यतर्फ ५९ मत र स्थानीय तहतर्फ १६२ मत प्राप्त गरे।

डा. दंगालका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गरे। सापकोटाले प्रदेश सभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत पाए। नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत प्राप्त गरेका छन्।

गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा निर्वाचित

गण्डकी प्रदेशबाट रिक्त राष्ट्रिय सभाका दुई सदस्यका लागि भएको मतदानमा नेपाली कांग्रेसका प्रा.डा जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन्।

तनहुँका प्रा.डा तिमिल्सिना ‘अन्य’ क्लस्टरबाट र मनाङकी देवकोटा ‘महिला’ क्लस्टरबाट निर्वाचित भएका हुन्। आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गर्दा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोचाले एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए।

कांग्रेस र एमालेले गण्डकीमा एक–एक सदस्य लिने गरी गठबन्धन गर्दा नेकपाबाट अन्य क्लस्टरमा कास्कीका कपिल लामा र महिलातर्फ गोरखाकी गोमा घिमिरे रुची तथा जनमोर्चाबाट अन्यमा कास्कीका शंकर बराल र महिलातर्फ बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका थिए।

गण्डकीमा प्रदेश सभाका ५९ प्रदेश सभा सदस्यसँगै ८५ वटा पालिकाका प्रमुख–उपप्रमुख १६९ गरी कुल २२८ मतदाता छन्। त्यसमध्ये पाँच जना अनुपस्थित भएका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए राप्रपाका दुई प्रदेश सभा सदस्य र स्थानीय तहका तीनजना मतदानमा अनुपस्थित भएका हुन्।

गण्डकीबाट तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल आउँदो २० फागुनमा सकिँदैछ। रिक्त हुन लागेको दुई सदस्य निर्वाचित गर्नका लागि आइतबार मतदान भएको हो।

लुम्बिनी प्रदेशबाट झाँक्री, केसी र घिमिरे विजयी

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा काँग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवारहरूले तीनै पदमा विजय हासिल गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार महिला समूहअन्तर्गत नेकपा एमालेकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । उनले कुल ६ हजार ३३० मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार प्राप्त गरे ।

अपाङ्गता समूहबाट नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ले ५ हजार ३२२ मतभारसहित सफलता हात पारे । उनका प्रतिद्वन्द्वी नेकपाका सजन विकले १ हजार ६०१ मतभार प्राप्त गरे ।

अन्य समूहअन्तर्गत पनि काँग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । उनले ५ हजार ९७७ मतभार प्राप्त गर्दा माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गरेका छन् ।

कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउँदै गठबन्धन विजयी भएको हो ।

गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाही तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।

उनका प्रतिद्धन्द्धी नेकपाका बुद्धिप्रसाद शर्माले एक हजार छ सय ३९ मतभार ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका मीनासिंह रखालले तीन हजार एक सय ४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले एक हजार सात सय ३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

आइतबार भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधि दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले मतदान बहिस्कार गरेकी थिइन् ।

सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् ।

खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।

यसैगरी, भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् ।

२२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए ।