काठमाडाैं । नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि भएको उपसभापति विश्वप्रकाश शर्माले जिकिर गरेका छन्।
नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत् चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे । शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस नयाँ ढंगले अघि बढेको पनि बताए ।
अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कोही भदौ २३ र कोही भदौ २४ मा अल्झिरहेको बताउँदै कांग्रेस त्यसभन्दा अघि बढेको बताए। ‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ। कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ। नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो,’ उनले भने।
कांग्रेसले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको उनको भनाइ छ । ‘सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो,’ शर्माले भने।
शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको पनि बताए । उनले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यसमा पनि नेपाली कांग्रेस जोडिएको छ ।’
उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ । ‘पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, पानीको दुःख अझै बाँकी छन् तर केही प्रगती पहिला भन्दा भएका छन्,’ उनले बताए। उपसभापति शर्माले विद्युत् र सञ्चार क्षेत्रका सुधारको पनि चर्चा गरे । ‘नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि कांग्रेसको नीतिगत आधारमै मुलुकमा विकासका कामहरू भएका छन्,’ उनले भने।
यद्यपि उनले कांग्रेसबाट पनि कमजोरी भएका स्वीकार गरे । ‘हामीले गर्न नसकेका धेरै काम छन्, केही कमजोरी हामीबाट भए, जसका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भए,’ शर्माले भने । उनले पटक–पटक सरकार मात्र परिवर्तन भएकाले परिवर्तन भएको अनुभूति नागरिकलाई हुन नसकेको बताए । उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनेपछि परिवर्तन भएको अनुभूति प्रधानमन्त्रीलाई मात्र हुनसक्छ, तर नागरिकलाई त्यो अनुभूति हुन सकेन ।’