काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले हालसम्म निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएकाे छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारीका क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोपसहित राज्यका संयन्त्रका गतिविधि र कामकारबाहीलाई पार्टीले नजिकबाट नियालिरहेको बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा धारणा राखेका थिए। उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माणलाई पार्टीले उदाहरणीय रूपमा सफल बनाएको दाबी गरे।
अध्यक्ष ओलीले गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न एमालेले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए। राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमान आत्मसमर्पणबाट जोगिन नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने स्पष्ट पारे। कुनै पनि किसिमको आत्मसमर्पण स्वीकार्य नहुनेमा उनले जोड दिए।
एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख र समृद्धि सुनिश्चित गर्ने गरी घोषणापत्र तयार गरिरहेको जनाएको छ। पार्टीले पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने व्यावहारिक कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी पनि गरिरहेकाे छ।