• २०८३ असार १५
  • 2026 June 29, Monday

सर्लाहीको पाँचदिने दौडाहापछि सभापति थापा काठमाडौं फर्किए

मलंगवा । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए ।

१२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे। यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षालाई नजिकबाट बुझ्न आफू केन्द्रित रहेको उनले बताएका छन्।

सर्लाही आगमनका बेला पार्टीका नेता तथा कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका थिए। भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापाले सर्लाही – ४ को विकास र समृद्धिका लागि आफ्नो भूमिका प्रभावकारी हुने प्रतिबद्धता जनाए।

सर्लाही छोड्नुअघि सञ्चारकर्मीसँग बोल्दै सभापति थापाले भने, ‘यहाँ आइपुग्दा द्विविधा थियो, तर फर्किँदा भरोसा बोकेर जाँदैछु। जनताको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको छ।’

उनले सर्लाहीमा तटबन्ध निर्माण, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्रमुख चुनौतीका रूपमा रहेको बताए।

उनका अनुसार कृषि सम्बन्धी टोली फर्किसकेको छ भने सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर अध्ययन गरिरहेको छ। सूचना प्रविधिसम्बन्धी टोली पनि छिट्टै सर्लाही पुगेर समस्याको अध्ययन गर्ने उनले जानकारी दिए।

सभापति थापा जनकपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन्। काठमाडौं प्रस्थानअघि उनले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरे।