• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न, जनक शिक्षाको छापाखाना पुगिन प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तर्गत मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको छ भने ती मध्ये हजारौँ बाकस प्याकिङ गरी ढुवानीको तयारीमा राखिएको छ ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्य अनुसार हिमाली र सुदूरपश्चिम क्षेत्रका साथै पहाडी क्षेत्रका गरी २५ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सकिएको निर्वाचन आयोगले जनाएको छ। ती जिल्लामा डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम०, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, कैलाली, कञ्चनपुरदेखि पूर्वी पहाडी तथा तराईका पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरीसम्म समावेश छन्।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ। यसैगरी समानुपातिक प्रणालीतर्फ आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ सम्पन्न भइसकेको छ र ती मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएका छन्।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मतपत्र छपाइको प्रगतिबारे प्रत्यक्ष जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्की बिहीबार जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा पुगेर छपाइ प्रक्रियाको अवलोकन निरीक्षण गरेकी हुन्। सो क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समयमै मतपत्र छपाइ, प्याकिङ र ढुवानी सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ।