• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गाडीको ठक्करबाट बालिकाको निधनप्रति बोल्यो रास्वपा– छानबिनमा प्रशासनलाई सघाउँछौँ

काठमाडौं । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट बालिकाको मृत्यु भएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीबाट आवश्यक पहल भइरहेको उल्लेख छ। ‘यस घटनाको गम्भीरतासँगै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। पार्टीले यस घटनालाई अत्यन्त गम्भीरतासाथ लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि सम्बन्धित प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं।’

रास्वपाले कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सम्बन्धबाट कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ। चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधन परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन सबै सदस्य, उम्मेदवार र चालकलाई रास्वपाले निर्देशन निर्देशनसमेत जारी गरेको छ।

रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो। बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका-४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो। रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए।

घाइते बालिकालाई अस्पताल छाडेर फरार चालकलाई बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चालकले प्रहरीसँग बालिका एक्कासि सडकमा आउँदा नदेखेको प्रारम्भिक बयान दिएका छन्। प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको छ।