• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गगन थापा भन्छन्– पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुन नहुने बताएका छन् । आइतबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले स्वास्थ्य बीमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्नुपर्ने र त्यसमा नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताएका हुन् ।

‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो’, उनले भनेका छन् । बीमाको चुहावट सुधार गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि बीमा बोर्डलाई बलियो बनाउनुपर्ने थापाले उल्लेख गरेका छन् ।

‘म स्वास्थ्य मन्त्री हुँदा पैसा नभएर उपचार रोकेका धेरै नेपाली भेटें । भए भरको सम्पत्ति सकेर बसेका भेटें । समाधान केहो त भन्दा स्वास्थ्य बीमा र कानून बनाएँ । प्रत्येक नेपालीको अनिवार्य बीमा गर्ने नीति बनायौं । शुरूमा राम्रैसँग अगाडि बढ्यो । म लामो समय रहन पाइनँ । अहिले अस्तव्यस्त भएको छ । यसलाई सच्याउनु र सुधार्नुपर्ने त छँदै छ । कांग्रेसको प्रतिवद्धता स्वास्थ्य बीमालाई गौरवको विषय बनाउँछौं । प्रत्येक नेपालीको बीमा गर्नैपर्छ’, उनले भने ।

थापाले स्वास्थ्य बीमा सुधारका लागि चारवटा मुख्य आधारस्तम्भ प्रस्तुत गरेका छन् । पहिलो आधारका रूपमा उनले ‘विश्वव्यापी पहुँच’ लाई लिएका छन् । अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बीमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिने उनले बताए । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।

दोस्रो सुधारका रूपमा उनले स्वास्थ्य र सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमलाई एकीकरण गर्ने बताए । तेस्रो, सङ्घीयता अनुरूप तीनै तहका सरकार र निजी क्षेत्रको भूमिका स्पष्ट पार्दै स्वास्थ्य प्रणालीलाई सुदृढ गरिनेछ ।

चौथो तथा महत्त्वपूर्ण पक्षका रूपमा सुशासनलाई जोड दिँदै उनले डिजिटल प्रणालीमार्फत दाबी भुक्तानीलाई छिटो र पारदर्शी बनाउने, दोहोरोपन हटाउने र बोर्डलाई शक्तिशाली बनाउने योजना अघि सारेका छन् ।