• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेलाई नवलपरासी प्रशासनले भन्यो– आचारसंहिता विपरीत कार्यक्रम नगर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पश्चिम नवलपरासीमा हुने भनिएको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासोमा राखेको छ ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न–नगराउन पनि सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् ‘निर्वाचन आचारसंहिता विपरीत’ का कार्यक्रम नगर्न भनेको हो ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले निकालेको सूचनामा निर्वाचन आचारसंहिता–२०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा जानकारी गराएको उल्लेख छ ।

निर्वाचन आचारसंहिताअनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव प्रयोजनका लागि फागुन ४ देखि १८ गतेसम्म १५ दिन मात्र प्रचारको अवधि तोकिएको छ ।

सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही आएको मौकामा लामिछानेले रुपन्देहीका ५ निर्वाचन क्षेत्रका दुई दर्जन स्थानमा पुगेर केही ठाउँमा समर्थकहरुलाई सम्बोधनसमेत गरेका थिए । त्यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरिएको हो ।

तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी ‘निर्वाचन आचारसंहिता विपरीत’ कार्यक्रम नगर्न भनेको हो ।