• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेकपाको नजरमा आफू क्रान्तिकारी, एमाले-कांग्रेस यथास्थितिवादी र रास्वपा पपुलिस्ट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी घोषणापत्रमार्फत देशको राजनीतिक शक्तिलाई चार फरक धारमा वर्गीकरण गरेको छ। घोषणापत्रमा नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’को रूपमा प्रस्तुत गर्दै अन्य दलहरूलाई यथास्थितिवादी, पपुलिस्ट र प्रतिगामी पुनरुत्थानवादीको श्रेणीमा राखेको छ।

पार्टीका अनुसार यसपटक निर्वाचनमा धेरै दल सहभागी भए पनि वास्तविक प्रतिस्पर्धा चार प्रकारका राजनीतिक शक्तिबीच सीमित छ। घोषणापत्रमा पहिलो स्थानमा ‘क्रान्तिकारी शक्ति’ राख्दै त्यसको मूल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी नै भएको दाबी गरिएको छ। नेकपाले समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी दृष्टिकोण र कार्यदिशा आफूसँग मात्र रहेको उल्लेख गरेको छ।

दोस्रो धारमा नेकपाले नेकपा एमाले र नेपाली कांग्रेसलाई समेट्दै उनीहरूलाई ‘यथास्थितिवादी शक्ति’को संज्ञा दिएको छ। घोषणापत्रमा भनिएको छ कि यी दलहरूसँग मुलुकलाई वर्तमान अवस्थाबाट अगाडि लैजाने कुनै नयाँ विचार, योजना वा दृष्टिकोण छैन र उनीहरू यथास्थितिलाई निरन्तरता दिनमै सीमित छन्।

तेस्रो श्रेणीमा नयाँ उदाएका दलहरूलाई राख्दै नेकपाले ती शक्तिलाई ‘पपुलिस्ट’को रूपमा चित्रण गरेको छ। नाम नलिइए पनि राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै घोषणापत्रमा आफूलाई नयाँ भन्ने पपुलिस्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन रहेको आरोप लगाइएको छ। यस्ता शक्तिहरू भदौ २४ को विध्वंशसँग जोडिएको र मुलुकका जटिल समस्या समाधान गर्न असमर्थ रहेको नेकपाको ठहर छ। पार्टीका अनुसार यस्ता दलहरू न त दीर्घकालीन राष्ट्रिय हितमा छन्, न त जनताको पक्षमा ठोस नीति प्रस्तुत गर्न सक्षम छन्।

चौथो धारका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राख्दै नेकपाले उसलाई ‘प्रतिगामी पुनरुत्थानवादी शक्ति’को रूपमा व्याख्या गरेको छ। घोषणापत्रमा जनआन्दोलन र क्रान्तिबाट हटाइसकिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्ने प्रयास देशलाई अगाडि होइन, पछाडि धकेल्ने दुस्साहस भएको टिप्पणी गरिएको छ।

नेकपाले विगतका जनसंघर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी पनि दोहोर्‍याएको छ। लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता अधिकारहरू जनताले आज उपभोग गर्न पाएको श्रेय आफ्नै संघर्ष र नेतृत्वका कारण सम्भव भएको घोषणापत्रमा उल्लेख छ।

‘हामीले व्यवस्था परिवर्तन गर्‍यौँ, अब देशको अवस्था पनि परिवर्तन गर्ने जिम्मेवारी हामीले नै लिन्छौँ,’ घोषणापत्रमा भनिएको छ, ‘अरूले भाषण गर्छन्, हामी काम गरेर देखाउँछौँ।’