काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्नो पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करारपत्र सार्वजनिक गरेको हो ।
बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने बताउँदै नागरिक करार मञ्जुर गर्ने रास्वपाले बताएको छ ।
पार्टीका सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत् ‘नागरिक करार’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका छन्। फागुन २१ गतेको आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त दस्तावेजमा शासन सुधारदेखि समृद्धि र रोजगारीसम्मका प्रतिबद्धता समेटिएका छन्।
दस्तावेजमा सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ। सार्वजनिक सेवा डिजिटल माध्यमबाट समयमै उपलब्ध गराउने, सरकारी सेवामा पारदर्शिता र जवाफदेहिता बढाउने तथा सार्वजनिक पदाधिकारीको अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ।
आर्थिक पक्षमा उत्पादनमुखी अर्थतन्त्र निर्माण, रोजगारी विस्तार र मध्यम वर्ग सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइएको छ। औसत आय वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा सामाजिक सुरक्षा मजबुत बनाउने योजना दस्तावेजमा समेटिएको छ।
रोजगारी सिर्जनाका लागि सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रमा लगानी विस्तार गर्ने उल्लेख छ। पूर्वाधार विकासतर्फ सडक, ऊर्जा र डिजिटल सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ।
प्रवासी नेपालीको अधिकार संरक्षण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने तथा स्वदेश फर्किने वातावरण तयार गर्ने प्रतिबद्धता पनि करारमा उल्लेख गरिएको छ।
रास्वपाले सरकारमा पुगेपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने नारासहित परिणाममुखी शासन दिने दाबी गरिएको छ ।
