काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज (बुधबार) पाकिस्तानले नामिबियाको सामना गर्दैछ। पाकिस्तानका लागि यो खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ, जहाँ टोली ‘गर या मर’को स्थितिमा मैदान उत्रिनेछ।
सलमान आगाको नेतृत्वमा खेलिरहेको पाकिस्तानी टोलीले आजको खेल जितेमा सुपर–८ मा पुग्ने सम्भावना बलियो हुनेछ। तर, हारले उसलाई प्रतियोगिताबाट बाहिरिने खतरा निम्त्याउनेछ। अघिल्लो विश्वकपमा अमेरिकासँग स्तब्ध पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले यसपटक टोली थप दबाबमा छ।
पाकिस्तानले हालसम्म तीन खेल खेलेर दुई जितका साथ ४ अंक जोडेको छ। यद्यपि, समान ४ अंक भए तापनि नेट रन रेटका आधारमा पाकिस्तान अमेरिकाभन्दा पछि तेस्रो स्थानमा खुम्चिएको छ। समूह ‘ए’ मा ६ अंकसहित भारत शीर्ष स्थानमा छ भने ४ अंकसहित अमेरिका दोस्रो स्थानमा छ। विपक्षी नामिबियाले भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन।
समूह ‘ए’ को यो निर्णायक खेल बुधबार दिउँसो सवा ३ बजे सुरु हुनेछ। उक्त खेलमा नामिबियाले पाकिस्तानलाई हराएमा अमेरिकाले सुपर–८ मा स्थान बनाउनेछ। यदि पाकिस्तानले नामिबियालाई हराएको खण्डमा पाकिस्तान सुपर–८ मा प्रवेश गर्नेछ।
विश्वकपमा हालसम्म समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वेले सुपर–८ मा स्थान बनाउँदा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ। आयरल्यान्ड र जिम्बाब्वेबीचको खेलमा वर्षा बाधक भएपछि दुवै टिमले अंक बाँड्दा जिम्बाब्वे अन्तिम खेलअघि नै सुपर–८ मा पुगेको हो। अस्ट्रेलिया भने प्रतियोगितामा तीनमध्ये दुई खेलमा हार भोग्दै अन्तिम खेलअघि नै बाहिरिएको हो। समूहमा श्रीलंका अपराजित रहँदै शीर्ष स्थानमा छ।
त्यस्तै, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्डले सुपर–८ मा स्थान बनाउँदा स्कटल्यान्ड तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । इटाली चौथो र नेपाल पाँचौँ स्थानमा रहेर प्रतियोगिताबाट बिदा भए। यद्यपि कुनै पनि टिम जितविहीन रहनु परेन।
त्यस्तै, समूह ‘डी’ बाट पनि सुपर–८ को समीकरण पूरा भएको छ। दक्षिण अफ्रिका सबै तीन खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेर छनोट हुँदा न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको छ।