जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जनकपुरधामको तिरुहुतियामा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश लगतै सभालाई सम्बोधन गर्दै शर्माले रास्वपाभित्र दागैदाग भएका व्यक्तिहरूको बर्चस्व बढेकाले आफूले उक्त पार्टी परित्याग गरेको बताइन्। उनले भनिन्, ‘रास्वपामा दागैदाग भएकाहरूले टिकट पाएपछि मेरो योगदान खेर गयो। त्यसैले सुशासन र नयाँ पुस्ताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस रोजेकी हुँ।’
शर्माले अहिलेको रास्वपा पुरानो कांग्रेस जस्तो भएको र गगन थापाले नेतृत्व गरेको कांग्रेस नयाँ रास्वपा जस्तो भएको टिप्पणी गरिन्। ‘वैकल्पिक भनिएका रास्वपाका नेताहरू आर्थिक चलखेल र मुद्दामामलामा मुछिएका छन्, उनीहरू पुराना कांग्रेसको शैलीमा गए’ उनले भनिन्, ‘तर अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ र ऊर्जावान् बनेको छ।’
सभालाई मैथिली भाषामा समेत सम्बोधन गर्दै उनले मधेसी जनतालाई यसपटक कांग्रेसका उम्मेदवार चिन्न आग्रह गरिन्। उनले भनिन्, ‘सबै पटक मधेसी जनताले नेताहरूलाई भोट दिए, तर नेताहरूले मधेसलाई चोट र लुटबाहेक केही दिएनन्। यसपटक बदलिएको कांग्रेसलाई साथ दिन म अपिल गर्दछु। ’
मधेसका धेरैजसो पुरुषहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको सन्दर्भ उल्लेख गर्दै शर्माले मधेसको राजनीतिमा अब महिलाको मत निर्णायक हुने दाबी गरिन्। महिलाको सम्मान, त्याग र बलिदान बुझ्ने पार्टी कांग्रेस मात्रै भएको जिकिर गर्दै उनले आगामी निर्वाचनमा रुख चिह्नमै मतदान गर्न आग्रह गरिन्।
मधेस प्रदेशमा रास्वपाको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी शर्माको बहिर्गमनलाई रास्वपाका लागि ठूलो धक्का र कांग्रेसका लागि मधेसमा उत्साहका रूपमा हेरिएको छ।