• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

टी–२० विश्वकप : सुपर–८ को समीकरण पूरा, यस्तो छ आगामी खेल तालिका

आईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणका केही खेलहरू बाँकी रहँदा सुपर–८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। अंक तालिकाको गणितीय आधारमा चारवटै समूहबाट शीर्ष दुई टोलीले अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन्।

समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर–८ मा प्रवेश गरेका छन्। भारतले आफ्ना चारै खेल जित्दै समूह विजेताको रूपमा स्थान बनाउँदा पाकिस्तान ६ अंकसहित उपविजेता बन्यो। संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया भने प्रतियोगिताबाट बाहिरिएका छन्।

समूह ‘बी’बाट श्रीलंका र जिम्बाब्वेले सुपर–८ मा स्थान पक्का गरेका छन्। अब हुने यी दुई टोलीबीचको भिडन्तले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। यो समूहबाट अस्ट्रेलिया, आयरल्याण्ड र ओमान बाहिरिएका छन्।

समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड अघिल्लो चरणमा पुगेका छन्। ६ अंकसहित वेस्ट इन्डिज शीर्ष स्थानमा छ। यस समूहबाट नेपाल, स्कटल्याण्ड र इटालीको यात्रा समाप्त भएको छ।

समूह ‘डी’बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ को यात्रा तय गरेका छन्। दक्षिण अफ्रिका अपराजित रहँदै शीर्ष स्थानमा रह्यो भने न्यूजिल्याण्ड दोस्रो भयो। अफगानिस्तान, युएई र क्यानडा भने बाहिरिएका छन्।

सुपर-८ को खेल शनिबारदेखि हुनेछ।

सुपर-८ मा समूह-१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावे छन् भने समूह-२ मा इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्।

समूहका प्रत्येकले एक-अर्कासँग खेल्नेछन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछ।

सुपर-८ को पहिलो खेल न्यूजिल्याण्ड र पाकिस्तानबीच हुनेछ। टि-२० विश्वकपको फाइनल खेल मार्च ८ मा हुनेछ।