• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निर्वाचनको संघारमा रास्वपाभित्र संकट ! असन्तुष्ट नेताहरूको रोजाइमा कांग्रेस

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तीव्र आन्तरिक कलह र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोटमा विभेद गरिएको र आर्थिक अपचलन भएको गम्भीर आरोप लगाउँदै केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूले धमाधम पार्टी परित्याग गरिरहेका छन्। रास्वपा छाड्ने अधिकांश नेता-कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन्।

गत माघ २९ मा डा. प्रणयशमशेर राणाले पार्टी छाडेसँगै सुरु भएको विद्रोहको शृङ्खला अहिले मधेश, बागमती, र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। रास्वपाले चुनावी अभियानलाई तीव्र पारिरहेका बेला भित्रैबाट पार्टीमा ‘पहिरो’ जान थालेपछि नेतृत्व दबाबमा परेको छ।

काठमाडौँ क्षेत्र नं. ५ मा रास्वपालाई स्थापित गराउन भूमिका खेलेका डा. राणाले आन्तरिक ‘प्राइमरी’ निर्वाचनका नाममा २५ हजार रुपैयाँ शुल्क उठाएर पनि प्रक्रिया मिचिएको र नेताहरूले आर्थिक लेनदेनका आधारमा उम्मेदवार छानेको आरोप लगाएका छन्।

प्रवासका लागि छुट्याइएको १० प्रतिशत प्रतिनिधित्वलाई ‘स्क्याम’ को संज्ञा दिँदै उनले पार्टीमा सुशासनको नारा उल्टो भइरहेको दाबी गरे। राणा हालै कांग्रेस प्रवेश गरिसकेका छन्।

नुवाकोटमा संगठन निर्माणमा खटिएका अशोककुमार थापाले कार्यकर्तालाई पाखा लगाइएको भन्दै पार्टी छाडेका छन्।

यता, नवलपरासी (सुस्ता पश्चिम)–१ मा कांग्रेसबाट आएका विक्रम खनाललाई उम्मेदवार बनाएपछि अघिल्लो निर्वाचनमा १२ हजारभन्दा बढी मत ल्याएका महेन्द्र सेन (ठकुरी) पक्ष चिढिएको छ। सोही असन्तुष्टिका कारण सुस्ताका उपसभापति गुप्तसेन ठकुरी र बर्दघाट–१३ का सभापति जीतबहादुर हरिजनले पार्टी छाडेका छन्।

त्यस्तै, कैलालीको धनगढीका नगर सभापति इश्वरी विष्ट र बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पनि राजीनामा दिएका छन्। चौधरीले मधेश प्रदेशमा सबैभन्दा बढी मत ल्याएको रेकर्ड भए पनि उम्मेदवार छनोट प्रक्रियामा धाँधली भएको भन्दै पार्टी परित्याग गरेका हुन्।

बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले नेतृत्वमा नैतिक विचलन आएको र तल्लो तहका कार्यकर्तालाई ‘दास’ जस्तो व्यवहार गरिएको आरोप लगाएका छन्। उनले पार्टीले उठाएको आवेदन शुल्कको हिसाब पारदर्शी नभएको प्रश्न समेत उठाएका छन्।

मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र मकवानपुरका जिल्ला सभापति भरत पराजुली पनि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन्। शर्मालाई जनकपुरमा र पराजुलीलाई सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले स्वागत गरेका थिए। पराजुलीले रास्वपामा सीमित व्यक्तिको प्रभाव र चाकरीवाद हाबी भएको टिप्पणी गरे।

पार्टीको केन्द्रीय वित्त विभाग सदस्य दिनेश आचार्यले सभापति रवि लामिछानेको भाषणशैली प्रतिशोधी भएको र पार्टी वैचारिक रूपमा स्खलित हुँदै गएको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्।

यसअघि, सुमना श्रेष्ठ र सन्तोष परियारलगायत नेताले रास्वपा छाडिसकेका छन् ।