• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अहिलेको परिस्थिति सम्हाल्ने तागत गगन थापासँग मात्रै छ : विश्वप्रकाश शर्मा

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिनसक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् ।

गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ ।’

उपसभापति शर्माले थापा प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा आफूसहितका नेताहरूले सांसदले सही मुद्दा उठाए वा उठाएनन् भनेर हेर्ने र आफ्नो क्षेत्रमा प्रत्येक दुई महिनामा आएर मतदाताको समस्या बुझे कि बुझेनन् भनेर झक्झकाउने बताए ।

उनले भने, ‘संसदमा नरहेका म सहितका साथीहरूले जितेको सांसदले सही मुद्दाको उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रका प्रत्येक दुई महिनामा एक पटक आएर मतदाताको समस्या बुझे वा नबुझेको पार्टी कार्यालयमा बसेर झक्झकाउने काम गर्छौं ।’

उपसभापति शर्माले यो क्षेत्र कांग्रेस निर्वाचित भएपछि गुल्मीको अधिकतम विकासमा ध्यान दिनेमा डा. चन्द्र भण्डारी जिम्मेवार परिपक्व नेता भएकाले ढुक्क भएर जिताउन आग्रह गरे ।

उपसभापति शर्माले गुल्मीका मतदाता सामु भण्डारीले गरेका प्रतिवद्धता उनको मात्रै नभएर अब देशको नेतृत्व गर्ने कांग्रेसका सभापति थापाको पनि भएको बताए ।