• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्ता छन् देशबासीका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधनका विषय (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् ।

सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् ।

देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताइन् ।

मतदान केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नै भविष्यको निर्णय हुने भएकाले सबै मतदातालाई मतदान केन्द्रमा पुग्न उनले आग्रह गरिन् ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन् ।

उनले जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डो¥याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ अघि बढिरहेको बताइन् ।

यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको यस संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरिन् । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र तनाव स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ उनले भनिन्, ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मेहनतले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताइन् ।

सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र कृत्रिम सामग्रीबारे सचेत रहन प्रधानमन्त्री कार्कीले नागरिकलाई आग्रह समेत गरेकी छन् ।

होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साह बढाउने विश्वास व्यक्त गरिन्। तर कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित रूपमा पर्व मनाउन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरू सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन् । नेपाली जहाँ रहे पनि नागरिकको सुरक्षा र हितको रक्षा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ:

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार !

आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु । हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ । आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ । तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन् ।

मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ । जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो । त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।

आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।

अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ:

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।

दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो।

चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन । म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।

साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु । यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन् । प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन् ।

नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन् । सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ।

निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ।

सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु । साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु । आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन।कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।

तेस्रो, हाम्रो उत्सवको कुरा,

निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ। निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् । तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।

चौथो- एक गम्भीर विषय,

आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो । त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।

हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।

अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु । मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।

आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।