काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि ३ दिन बाँकी रहँदा मकवानपुर–१ मा चुनावी माहोल तातेको छ। यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
२३ जनाको उम्मेदवारी रहेको यो क्षेत्रमा एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए । सिंहले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’ र तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । तर यो क्षेत्रमा यसपटकको प्रतिष्पर्धा भने रोचक हुँदै गएको छ।
कांग्रेस, एमाले, नेकपा, राप्रपा र रास्वपाको पाँचपक्षीय प्रतिष्पर्धा हुने देखिए पनि जेञ्जी आन्दोलनपछि फेरिएको नेपालको राजनीतिक माहोलमा नेकपाका गौतमले सरप्राइज नतिजा निकाल्ने प्रबल सम्भावना देखिएको छ। गौतमले पत्रकारहरुसंगको भेटघाटमा पनि आफुले झन्डै ३००० को मतान्तरले निर्वाचनमा विजय प्राप्त गर्ने बताएका छन्।
यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, ग्रामीण भेगतर्फ मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् ।
बागमती गाउँपालिका र वकैया गाउँपालिकामा नेकपाको अत्यन्तै राम्रो प्रभाव देखिन्छ भने हेटौंडाको बजार क्षेत्रमा पनि गौतमको व्यक्तित्वका कारण राम्रो मत प्राप्त हुने स्थानियहरुको भनाइ छ। जेञ्जी भावनाअनुरुपको युवा, योग्य, र सक्षम उम्मेदवार अन्य पार्टीले भन्दा नेकपाले नै उठाएको भन्दै गौतमलाई नै समर्थन गर्ने स्थानीय युवा सरोज तामाङले बताए।
यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचन भने माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र प्रल्हाद लामिछानेले जितेका थिए । त्यस यता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छ्रैन । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर बागमती गाउँपालिका अध्यक्ष, मकवानपुरगढी र बकैया गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको थियो । बकैया र मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्ष जितेका थिए ।
कम्युनिस्ट गढ मानिने मकवानपुर जिल्लामा फेरी एकपटक सानदार जीत निकाल्ने भन्दै नेकपाका कार्यकर्ता उत्साहित भएका छन्।