बागलुङ । जब फागुनको मन्द बतासले धौलागिरिको फेदीबाट सिरेटो बोकेर ल्याउँछ, बागलुङका डाँडाकाँडाहरूमा एउटा बेग्लै कम्पन सुनिन्छ । यो कम्पन केवल ऋतु परिवर्तनको होइन, यो त लोकतन्त्रको त्यो महापर्वको हो, जसले बागलुङ निर्वाचन क्षेत्र नम्बर १ लाई यतिबेला एउटा जीवन्त रङ्गमञ्च बनाइदिएको छ ।
बागलुङ बजारको काखमा कालिका भगवती मन्दिर शान्त मुद्रामा विराजमान छिन् । भक्तजनको घुइँचो र घण्टीको धुनबीच यतिबेला एउटा नयाँ स्वर मिसिएको छ– राजनीतिक बहसको स्वर । चैते दशैँको तयारी गर्दै गरेको यो पुण्यभूमिमा अहिले राजनीतिक दलका झण्डाहरू लालिगुराँस झैँ जताततै फुलेका देखिन्छन् । पर्वते राजाले भित्र्याएको यो ऐतिहासिक शक्तिपीठले शताब्दीऔँदेखि धेरै परिवर्तनहरू देख्यो, तर फागुनको यो चुनावी सरगर्मीले यहाँको वायुमै एउटा बेग्लै छटपटी, उत्साह र जोश भरिदिएको छ ।
सर्वसिद्धिधाम पञ्चकोटको अग्लो कलशले आकाश छुन खोज्दै गर्दा, तल बस्तीहरूमा भने नागरिकका सपनाहरूले उचाइ खोजिरहेका छन् । एकातिर पञ्चकोटको आध्यात्मिक शान्ति छ, अर्कोतिर फागुन २१ को त्यो राजनीतिक हुटहुटी, जसले चिया पसलदेखि चौतारीसम्म बहसको आगो दन्काइरहेको छ ।
जेन–जी आन्दोलनपछि सिर्जित अवस्थाबाट हुन लागेको निर्वाचनमा केही मतदाता पुराना राजनीतिक दलसँग असन्तुष्ट देखिएका छन् । त्यसले मत त फरक पार्छ नै नयाँ दलको पनि उम्मेदवार नयाँ भएकाले उनीहरूलाई पनि चुनौती भने निकै छ । यसरी बागलुङ क्षेत्र नं. १ को चुनावी दृश्यमा अनौठो अवस्था सिर्जना भएको छ । पुराना दलहरू आफ्नै मतदाता जोगाउन संघर्षरत छन् भने नयाँ दल पुरानाको मत खोस्ने प्रयासमा छ । यही द्वन्द्व, डर र भरोसाको मिश्रणले यस क्षेत्रको निर्वाचनलाई थप चासोको विषय बनाएको छ । समयसँगै मतदाताको सोच, अपेक्षा र प्राथमिकतामा परिवर्तन भएको छ । यद्यपी पुराना दल भएर पनि सच्चिएर आएको विश्वास दिलाइरहेको नेपाली कांग्रेसले पनि यो क्षेत्रको चुनावी माहोल थप रोमाञ्चक बनाइरहेको छ ।
महिला, दलित, र जनजाति समुदायको प्रतिनिधित्व समेत समेटेर ५०० जना मतदाताबीच गरिएको स्थलगत सर्वेक्षणको नतिजालाई विश्लेषण गर्दा यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक र कडा देखिएको छ । सर्वेक्षणका अनुसार ५०० जनामा गरिएको यो नमुना सर्वेक्षणमा नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । दोस्रो स्थानका लागि रास्वपा र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा छ भने राष्ट्रिय जनमोर्चा चौथो शक्तिमा देखिएको छ।
बागलुङ नगरपालिकामा सबैभन्दा कडा प्रतिस्पर्धा नेपाली कांग्रेस र रास्वपाबीच देखिएको छ । १८० जनाको सर्वेक्षणमा कांग्रेसका भीम श्रीसलाई ५७ मतका साथ झिनो अग्रतामा रहँदा रास्वपाका सुशील खड्का ५६ मतका साथ दोस्रो स्थानमा छन् । नेकपा एमाले यहाँ २८ मतका साथ तेस्रो स्थानमा पछि परेको देखिन्छ ।
काठेखोला गाउँपालिकामा कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । १२० जनाको सर्वेक्षणमा कांग्रेस ३६ मतका साथ पहिलो, एमाले ३३ मतका साथ दोस्रो र रास्वपा ३० मतका साथ तेस्रो स्थानमा छन् । यी तीन दलबीचको मतान्तर निकै कम भएकाले यहाँ कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन ।
यसैगरी, जैमिनी नगरपालिकामा नेपाली कांग्रेस अरूभन्दा निकै अगाडि देखिएको छ । १२० जनामध्ये ५६ जनाले कांग्रेसलाई रोज्दा राष्ट्रिय जनमोर्चा २३ मतका साथ दोस्रो, एमाले २० मतका साथ तेस्रो स्थानमा छ । रास्वपा यहाँ १२ मतमा खुम्चिँदै चौथो स्थानमा झरेको छ ।
यस्तै, बरेङ गाउँपालिकामा ८० जनामा गरिएको सर्वेक्षण अनुसार बरेङमा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच मुख्य प्रतिस्पर्धा छ । कांग्रेस २४ मतका साथ अघि रहँदा जनमोर्चा २१ मतका साथ पछ्याइरहेको छ । एमाले र रास्वपा दुवै १६–१६ मतका साथ यहाँ तेस्रो स्थानमा छन् ।
विशेषगरी बागलुङ बजार र आसपासका सहरी क्षेत्रका युवा मतदाताहरूमा परिवर्तनको चाहना तीव्र छ । यसले गर्दा ठूला दलहरूको परम्परागत ‘भोट बैंक’मा रास्वपाले राम्रै रोक लगाउने देखिन्छ । बागलुङ बजारका युवा मतदाता सुमन केसी भन्छन् ‘पुराना दलहरूले पटक–पटक अवसर पाए पनि डेलिभरी दिन सकेनन् । त्यसैले यसपालि बजार क्षेत्रका अधिकांश युवा र सचेत मतदाता नयाँ भिजन भएको रास्वपा तिर आकर्षित छन् । नयाँ मतदाताको पहिलो रोजाइ नै रास्वपा बनेको छ ।’
बागलुङ–१ मा मगर समुदायको बाक्लो उपस्थिति छ । यसपटक कांग्रेसले मगर समुदायकै युवा र लोकप्रिय व्यक्तिलाई अघि सारेपछि एमालेका पुराना र ‘कोर’ भोटहरू समेत डगमगाएका छन् । समुदायको मत आफ्नै मान्छेलाई दिनुपर्छ भन्ने भावनाले गर्दा एमालेका इमानदार कार्यकर्तासमेत यतिबेला कांग्रेसको उम्मेदवारप्रति नरम देखिएका छन् ।
लामो समयदेखि एमालेमा आबद्ध रहेका काठेखोला गाउँपालिकाका सुनिल थापा मगर आफ्नो फेरिएको मनस्थितिबारे भन्छन्, ‘मैले सधैं सूर्यमा भोट हालेँ, तर यसपालि हाम्रो आफ्नै मगर समुदायको सक्षम र शिक्षित युवा मैदानमा हुनुहुन्छ । पार्टीभन्दा पनि आफ्नो समुदाय र सक्षम व्यक्तिको कदर गर्नुपर्छ भन्ने सल्लाह गाउँघरमा भइरहेको छ । त्यसैले यसपालि मेरो भोट कांग्रेसका ती युवा उम्मेदवारलाई जान सक्छ ।’
तथ्याङ्कलाई विश्लेषण गर्दा रास्वपाको बढ्दो प्रभावले कांग्रेसको भोटमा केही गिरावट आउने निश्चित छ । बागलुङ–१ मा रास्वपाबाट अघिल्लो चुनाव लडेका खिमानन्द कँडेल अहिलेको टिकट वितरणप्रति सन्तुष्ट छैनन् । उनले निरन्तर पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जाहेर गरिरहेका छन् ।
बागलुङ–१ मा कांग्रेसको परम्परागत भोट नै निर्णायक देखिन्छ तर यसो भनेर कांग्रेस ढुक्क हुने अवस्था भने छैन । अहिले माहोल फेरिएको छ तर पनि भीम श्रीसजस्तो जुझारु र शिक्षित उम्मेदवार पाएकाले निराश भएका मतदाता पनि उत्साहित छन् । संगठनको बलियो उपस्थिति नै उनको जितको पहिलो ग्यारेन्टी हो ।
जैमिनी नगरपालिकाकी निशा पुन भन्छिन् ‘पहिला पनि नयाँ भनेर माओवादी पार्टी आयो । हामीले भोट पनि दियौँ । नयाँले पनि केही गर्ने रहेनछन् भन्ने थाहा पाइसक्यौँ, अहिले पनि नयाँ भनेर आइरहेका छन् उनीहरुप्रति विश्वास छैन । यहाँको भूगोल बुझेको सच्चिएर आएको भनेका छन् एकपटक फेरि कांग्रेसलाई नै हेर्ने हो कि भन्ने सोचेका छौँ ।’ कांग्रेसमाथि भरोसाको अर्को कारण सभापति गगन थापा पनि हुन् । गगन सभापति भएका कारण नै कांग्रेसको समर्थन गर्नेहरु पनि छन् । धौलागिरी क्याम्पसमा अध्ययनरत बागलुङ नगरपालिकाकी रिता कार्की गगन थापाप्रतिको विश्वासकै कारण कांग्रेसमा मतदान गर्न तयार छिन् । उनी भन्छिन् ‘नयाँमाथि त्यति भरोसा छैन, एकपटक बदलिएको कांग्रेस पनि हेर्नुपर्ने छ ।’
भीम श्रीसको सबैभन्दा ठूलो पुँजी उनको ‘स्वच्छ र अपराजित’ राजनीतिक छवि हो । २०६२ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका अन्य सबै उम्मेदवार पराजित हुँदा श्रीसले एक्लै अध्यक्ष जितेर इतिहास रचेका थिए । त्रिविको इतिहासमा संकटका बेला पनि जित निकाल्न सक्ने नेताका रूपमा उनी चिनिन्छन् ।
यसविपरीत, उनका मुख्य प्रतिस्पर्धी एमालेका हिराबहादुर केसी २०७० र २०७९ को निर्वाचनमा पराजित भइसकेका छन् । पटक–पटक पराजित अनुहारभन्दा मतदाताले यसपटक ‘टेस्ट’ नभएका तर प्रमाणित भइसकेका श्रीसलाई रुचाउने सम्भावना पनि छ । तर कतिपय मतदाता पटक–पटक पराजित भएका केसीलाई एकपटक जिताउने पक्षमा पनि छन् ।
भीम श्रीसको शैक्षिक पृष्ठभूमि (एमएससी, ग्रामीण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर, एमबीएस) अन्य उम्मेदवारको तुलनामा निकै सबल छ । विज्ञान संकायदेखि व्यवस्थापन र राजनीतिसम्मको उनको ज्ञानले उनलाई नीति निर्माण तहका लागि योग्य देखाउँछ । क्रिकेट खेलप्रतिको लगाव र कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा उनले खेलेको भूमिकाले युवा पुस्तामाझ पनि उनको क्रेज छ । रास्वपाका सुशील खड्काले युवा र विज्ञताको नारा दिए पनि श्रीससँग ‘विज्ञता र राजनीतिक अनुभव’ दुवैको सन्तुलन छ ।
एमालेका हिराबहादुर केसीले चुनावी घोषणापत्रमा मतदाता रिझाउन सुरुङमार्ग बनाउने कुरा गरेपनि कांग्रेसका श्रीसले भुगोल सुहाउँदो घोषणापत्र ल्याएका छन् । उनले जैमिनी नगरपालिकामा बाँदर आतंक कम गर्नको लागि कार्यक्रम लिएर आउने बताएका छन् । बागुलुङको जैमिनीमा बाँदर आतंक अति भएको स्थान हो । यहाँका मतदाताले सार्वजनिक रुपमा नै बाँदर नियन्त्रणको नीति जसले ल्याउँछ उसलाई भोट दिने भन्दै आइरहेका छन् । स्थानीय हरिकृष्ण पुन मगरले पनि हामीलाई त्यही कुरा बताए । उनले भने ‘यहाँ बादरले निकै आतंक मच्चाएको छ । भीम श्रीसले जिते भने बाँदर आतंक घटाउने भनेर चुनावी प्रतिबद्धता गरेका छन् त्यसकारण मत रुखमा हाल्ने सोचेको छु ।’
यसअघि चित्रबहादुर केसीले जितेको यो क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीलाई केसीको विरासत जोगाउने चुनौती छ । एमालेका उम्मेदवार केसीलाई अघिल्ला पराजयको मनोवैज्ञानिक दबाब छ । यस्तो अवस्थामा कांग्रेसका श्रीसलाई सबैतिरको मत तान्न सहज हुने स्थानीय मतदाताहरुको विश्लेषण छ ।
भीम श्रीसले यसपटक ‘बदलिएको कांग्रेस र एकताबद्ध प्रयास’ लाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । लामो समय अवसर नपाएका निष्ठावान कार्यकर्ताका रूपमा उनले सहानुभूति र समर्थन दुवै बटुलिरहेका छन् । बागलुङको विकासमा पछौटेपन हटाउने र राष्ट्रियस्तरको अनुभवलाई स्थानीय माटोमा भिजाउने उनको संकल्पले मतदातालाई आकर्षित गरेको छ ।
बागलुङ–१ का मतदाताहरू तुलनात्मक रूपमा सचेत मानिन्छन् । भीम श्रीससँग त्रिविबाट एमएससी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको उच्च शैक्षिक योग्यता छ । ठिक त्यही ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ र अर्थशास्त्रमा स्नातकोत्तर गरेर ‘बौद्धिक टक्कर’ दिएका छन् ।
श्रीसले आफ्नो शैक्षिक दक्षतालाई ‘नीति निर्माण’ मा प्रयोग गर्ने दाबी गर्दा, खड्काले ‘अन्तर्राष्ट्रिय ज्ञान र प्रविधि’लाई बागलुङको विकासमा जोड्ने तर्क अघि सारेका छन् । यसले गर्दा तटस्थ र बौद्धिक मतदाता दुई धारमा बाँडिने सम्भावना पनि छ । नाम नखुलाउने शर्तमा बागलुङका एक शिक्षकले भने, ‘भीम श्रीसले यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रमहरु ल्याएर सहयोग गर्नुभएको थियो । अब झन् जितेर गएपछि बागलुङको शिक्षा क्षेत्रमा केही सुधार पक्कै गर्नुहुन्छ भन्ने आशा छ ।’
पहिलोपटक मतदान गर्न लागेकी बागलुङ नगरपालिकाकी जेनजी युवती सुरक्षा शर्मा भने नयाँलाई पनि अवसर दिने र पुरानालाई पनि छोड्न नहुने तर्क गर्छिन् । शर्मा भन्छिन् ‘नयाँलाई पनि हेर्नुपर्ने त छ तर पनि नयाँले गर्छन् नै भन्ने विश्वास पनि छैन, त्यहीकारण मैले चाहीँ प्रत्यक्ष र समानुपातिकमा नयाँ पुराना दुवैलाई मतदान गर्ने अठोट लिएको छु ।’
भीम श्रीसको बलियो पक्ष उनको ‘अपराजित’ र निष्कलंक राजनीतिक इतिहास हो । तर, सुशील खड्काले आफूलाई राजनीतिज्ञ भन्दा पनि ‘डेलिभरी दिने उद्यमी’ का रूपमा प्रस्तुत गरेका छन् । ४०० भन्दा बढीलाई रोजगारी दिएको र फोहोर व्यवस्थापनमा सफल मोडल देखाएका खड्काले श्रीसलाई ‘काम गरेर देखाउने’ चुनौती भने दिएका छन् ।
पुराना दलका नेताहरूले कुरा मात्र गर्छन् भन्ने भाष्य चिर्न श्रीसलाई जति कठिन छ, खड्कालाई त्यही ‘फ्रस्ट्रेट’ मतदाताको मत तान्न सहज छ । ०७९ को चुनावमा रास्वपाका उम्मेदवार खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर सबैलाई चकित पारेका थिए ।
भीम श्रीसको मुख्य भरोसा नै युवा र नयाँ मतदाता हुन । तर, सुशील खड्का आफैँ युवा उद्यमी भएकाले र रास्वपाको ‘क्रेज’ युवामा बढी भएकाले श्रीसको भोट बैंकमा खड्काले ठूलो धक्का दिन सक्छन् ।
बागलुङका धेरै युवाहरू वैदेशिक रोजगारी र अध्ययनका लागि बाहिर छन् । सुशील खड्काको अन्तर्राष्ट्रिय अनुभव र उनको डिजिटल प्रचारले विदेशमा रहेका बागलुङेहरूलाई प्रभावित पारेको छ, जसको सीधा असर घरमा रहेका उनीहरूका परिवारको मतदानमा पर्न सक्छ । भीम श्रीस परम्परागत संगठन (टोल र वडा कमिटी) मा बलियो हुँदा खड्का ‘डिजिटल र न्यु मिडिया’ मा हाबी छन् ।
बागलुङ–१ को अंकगणितले भीम श्रीसलाई अझै पनि सुरक्षित पहिलो स्थानमा देखाउँछ । तर, सुशील खड्काले दिने टक्करले जितको मतान्तरलाई निकै साँघुरो बनाउन सक्छ ।
यदि एमाले र जनमोर्चाका असन्तुष्ट मतहरू र नयाँ थपिएका युवा मतदाताहरू सुशील खड्कातर्फ ढल्किए भने भीम श्रीसका लागि यो चुनाव जीवनकै सबैभन्दा कठिन परीक्षा बन्न सक्छ । त्यसैले, श्रीसका लागि यसपटकको मुख्य अवरोध रास्वपाका सुशील खड्का बन्ने देखिन्छ ।