चितवन । प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले निर्वाचनका क्रममा नेपाली कांग्रेस र एमालेबीच ‘गोप्य तालमेल’ भएको सनसनीपूर्ण दाबी गरेका छन्।
मतदानको समय सकिए लगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले चितवन–२ र झापा–५ मा दुई दलबीच मत साटासाट गर्ने सहमति भएको जिकिर गरेका हुन्। घिमिरेको दाबी अनुसार, चितवन–२ मा एमालेले कांग्रेस उम्मेदवार मीना खरेललाई सघाएको छ भने झापा–५ मा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मत दिएको छ।
आफू उम्मेदवार भएर पनि कांग्रेसको चुनाव चिह्नमा मत मागेको खुलासा गर्दै घिमिरेले यसलाई पार्टीको ‘चेन अफ कमान्ड’ को संज्ञा दिएका छन्। उनले भने, ‘मलाई राजनीतिमा यो स्थानसम्म पुर्याउन मेरो दल नेकपा एमालेको ठूलो योगदान छ। पार्टीले उम्मेदवार बनायो, म बनेँ। तर पार्टी अध्यक्षज्यूलाई सघाउन निर्देशन भयो, त्यसैले मैले सघाएँ।’
निर्वाचनअघि यो विषयलाई रणनीति स्वरूप गोप्य राखिएको र आफू उम्मेदवार भए पनि मतदातामाझ पुगेर ‘रुख’ चिह्नमा मत मागेको उनको दाबी छ।
घिमिरेका अनुसार यो तालमेलको मुख्य उद्देश्य झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र चितवन–२ मा कांग्रेसकी मीना खरेललाई जिताउनु थियो। विशेष गरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेलाई पराजित गर्न एमाले र कांग्रेस एक ठाउँमा उभिएको घिमिरेको भनाइ छ।
चितवन–२ मा रास्वपाका रवि लामिछाने, कांग्रेसकी मीना खरेल र एमालेका घिमिरे स्वयं प्रतिस्पर्धामा छन्। त्यस्तै, झापा–५ मा एमाले अध्यक्ष ओली, रास्वपाका शाह र कांग्रेसकी मन्धरा चिमरिया लगायत चुनावी मैदानमा छन्। निर्वाचनको नतिजा आउनुअघि एमाले उम्मेदवारबाटै आएको यस्तो दाबीले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।