आईसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता इङ्गल्याण्डलाई ७ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा भारतले प्रस्तुत गरेको २५४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इङ्गल्याण्डले निर्धारित २० ओभरमा २४६ रन मात्र बनाउन सक्यो।
अब उपाधिका लागि मार्च ८ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत र न्युजिल्याण्डबीच फाइनल प्रतिस्पर्धा हुनेछ।
२५४ रनको कठिन लक्ष्य पछ्याएको इङ्गल्याण्डका लागि युवा ब्याटर जेकब बेथेलले विस्फोटक ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म जीवित राखेका थिए। उनले मात्र ४८ बलमा १०५ रनको शतकीय पारी खेले। यद्यपि, उनलाई अन्य ब्याटरबाट बलियो साथ मिल्न सकेन।
इङ्गल्याण्डको सुरुवात खराब रहेको थियो। दोस्रो ओभरको पहिलो बलमै फिल साल्ट (५ रन) लाई हार्दिक पाण्ड्याले आउट गरे। लगत्तै ह्यारी ब्रुक ७ रन र जोस बटलर मात्र ११ रन बनाएर पभेलियन फर्किए। मध्यक्रममा विल ज्याक्सले ३५ रन र ब्यान्टनले १७ रन जोडेर बेथेललाई साथ दिएका थिए।
अन्तिम ओभरमा जितका लागि ३० रन आवश्यक भएको अवस्थामा पहिलो बलमै बेथेल रनआउट भएपछि इङ्गल्याण्डको जितको आशा समाप्त भएको थियो।
भारतका लागि हार्दिक पाण्ड्या, जसप्रित बुमराह, अर्शदीप सिंह र वरुण चक्रवर्तीले महत्वपूर्ण विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको पहाड खडा गरेको थियो। भारतका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४२ बलमा ८९ रन बनाए। उनको पारीमा ८ चौका र ७ छक्का सामेल थिए। सामसन र ईशान किशन (३९ रन) बीच दोस्रो विकेटका लागि ४५ बलमा ९७ रनको साझेदारी भएको थियो।
मध्यक्रममा शिवम दुबेले २५ बलमा ४३ रनको योगदान दिए भने तिलक वर्माले अन्तिम ओभरहरूमा मात्र ७ बलमा २१ रन जोडे। हार्दिक पाण्ड्याले १२ बलमा २७ रन बनाउँदै भारतको स्कोर २५० पार गराउन मुख्य भूमिका खेले।
इङ्गल्याण्डका बलरहरू भारतीय ब्याटरसामु निरीह देखिए। जोफ्रा आर्चरले ४ ओभरमा ६९ रन खर्चिएर मात्र १ विकेट लिए। विल ज्याक्स र आदिल रशिदले समान २-२ विकेट लिए पनि उनीहरू निकै महँगो साबित भए।