• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

च्याम्पियन्स लिग : बायर्न र एटलेटिको विजयी, बार्सिलोना बराबरीमा रोकिँदा लिभरपुल पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का खेल शुरु भएका छन् ।

गएराति सम्पन्न पहिलो लिगका खेलमा बायर्न म्युनिख एटलेटिको म्याड्रिडले शानदार जित हासिल गरेका छन् भने बार्सिलोना बराबरीमा रोकिएको छ । त्यस्तै, लिभरपुल भने पराजित भएको छ ।

पहिलो लिगको खेलमा बायर्न म्युनिखले इटालियन क्लब एटलान्टालाई ६-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जोसिप स्टानिसिक, सर्ज ग्नाबेरी, निकोलस क्याक्सन र जामल मुसियालाले एक–एक गोल गरेका थिए । एटलान्टाका लागि मारियो पासालिकले एक गोल गरेका थिए ।

त्यस्तै, अर्को खेलमा एटलेटिको म्याड्रिडले टोटनह्यामलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि जुलियन अल्भारेजले २ गोल गरे भने मार्कोस लिओरेन्ट, एन्टोनी ग्रीजम्यान र रोबिन नोरमाण्डले एक–एक गोल गरेका थिए । टोटनह्यामका लागि पेड्रो पोरो र डोमिनिक सोलान्केले एक–एक गोल गरेका थिए ।

त्यसैगरी, अर्को खेलमा बार्सिलोना र न्यूक्यासल युनाइटेड भने १-१ गोलको बराबरी खेलेका छन् । खेलको ८६औं मिनेटमा न्यूक्यासलले हार्भी बार्नेजको गोलमा अग्रता लिए पनि खेलको इन्जुरी समय पछि ९६औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई लामिन यमलले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए ।

त्यस्तै, गएराति नै भएको अर्को खेलमा लिभरपुल टर्कीको क्लब गालाटासारेसँग १-० गोल अन्तरले पराजित भएको छ । गालाटासारेको जितमा खेलको सातौं मिनेटमा मारियो लेमिनाले गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।

अब राउण्ड १६ का दोस्रो लिगका खेल मार्च १८ मा हुने तालिका रहेको छ ।