• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

गृहमन्त्री गुरुङ भन्छन्- ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइएको रहेछ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि हत्कडी अपराधीलाई होइन, सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार तथा विभिन्न अपराधको आरोप लागेकाहरूलाई धमाधम पक्राउ गरिरहेका बेला गृहमन्त्री गुरुङले यसअघि लामो समय सत्ताको नेतृत्व गरेका राजनीतिक दलहरूलाई कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरूङले प्रहरी प्रशासनलाई दलीय छायामा राखिएको, निर्बाध काम गर्न नदिएको आसय प्रकट गरेका हुन्। ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

गृहमन्त्री बनेयता उनले कानुनी कारबाहीलाई तीव्रता दिएका छन्।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसँगै प्रहरी प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गुण्डागर्दीमा संलग्नमाथि निगरानी र नियन्त्रण सुरू गरेको छ।

शनिबार मात्र नेपाल प्रहरीले सेवा प्रवाहमा समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्नेहरूविरुद्ध ‘अपरेसन’ चलाउन परित्रप गरेको छ भने काठमाडौँ उपत्यकामा मात्रै त्यस्ता १५० जनालाई नियन्त्रणमा लिइसकेको छ।