• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गरेका छन् ।

विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको कडा आलोचना गर्दै विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत् उनले सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताउँदै विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक भएको उल्लेख गरेका छन् ।

उनले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न सुझाव दिएका छन् ।

उनले नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको उल्लेख गर्दै जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने चेतावनी दिएका हुन् ।