काठमाडौँ । अष्ट्रेलियाले आफ्नो १२५ वर्षको इतिहासमा पहिलो पटक महिला प्रधानसेनापति पाउने भएको छ । अस्ट्रेलिया सरकारले सोमबार एक वक्तव्य जारी गर्दै लेफ्टिनेन्ट जनरल सुसन कोयललाई प्रधानसेनापति नियुक्त गरिएको घोषणा गरेको हो ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजीद्धारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “जुलाईदेखि अष्ट्रेलियाली सेनाको १२५ वर्षको इतिहासमा पहिलो पटक महिला सेनाप्रमुख हुने छिन्।”
सरकारको यस निर्णयलाई देशको सेनामा गरिएको पुनर्संरचनाको भागका रुपमा लिइएको छ।
कोयल हाल सेनाभित्रको संयुक्त क्षमता विभागकी प्रमुखका रुपमा कार्यरत छिन् । आउँदो जुलाई महिनादेखि उनले लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्टलाई प्रतिस्थापन गर्ने छिन् ।
कोयल झन्डै चार दशक लामो अवधिदेखि सेनामा छिन् । उनीसँग अफगानिस्तान र मध्यपूर्वमा सञ्चालन भएका अभियानहरूसहित विभिन्न उच्च कमाण्ड पदहरू सम्हालेको अनुभव छ ।
अष्ट्रेलियाली सेनाले लामो समयदेखि महिला अधिकृतहरूको संख्या बढाउने प्रयास गरिरहेको छ। हाल अष्ट्रेलियाली सेनामा महिलाहरूको हिस्सा करिब २१ प्रतिशत रहेको छ भने नेतृत्वदायी पदहरूमा महिलाको हिस्सा १८.५ प्रतिशत छ। सेनाले सन् २०३० सम्ममा महिलाको सहभागिता २५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
यसबाहेक, हाल अष्ट्रेलियाली सेनाभित्रका यौन दुर्व्यवहार र विभेदका घटनाहरुका श्रृंख्ला नै सार्वजनिक भइरहेका छन् । गत अक्टोबरमा मात्रै हजारौँ महिला अधिकृतहरूलाई यौन हिंसा, दुर्व्यवहार र विभेदबाट जोगाउन असफल भएको आरोपमा सेनाविरुद्ध सामूहिक मुद्दा दायर गरिएको थियो । त्यसैले यसै समयमा भएकोकोयलको नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अष्ट्रेलियालाका रक्षा मन्त्री रिचर्ड मार्ल्सले कोयलको नियुक्तिलाई अत्यन्त ऐतिहासिक क्षणका रुपमा अथ्र्याएका छन् । त्यस्तै, उनले यस निर्णयले अहिले सेनामा सेवा गरिरहेका र भविष्यमा सेवा गर्ने सोच बनाइरहेका महिलाहरूका लागि अत्यन्त महत्वपूर्ण साबित हुने दाबी गरेका छन् ।