काठमाडौँ । इरानले तेल ढुवानी मार्ग हर्मुज जलमार्ग पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । आपूर्ति अवरोध हुने सम्भावना घटेसँगै लगानीकर्ताको विश्वास बढ्दा तेलको मूल्यमा ठुलो गिरावट आएको हो ।
योसँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९८ डलरबाट झरेर ८८ डलरको आसपासमा पुगेको छ । यस्तै, अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट को मूल्य पनि उल्लेख्य रूपमा घट्दै प्रतिब्यारेल ८४ डलर हाराहारीमा झरेको छ । युद्धअघि करिब ७० डलर रहेको ब्रेन्ट मूल्य द्वन्द्व चर्किएपछि ११५ डलर नाघेको थियो ।
अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण पछिल्लो केही महिनायता कच्चा तेलको मूल्य आकाशिएको थियो । तर, हाल युद्धविरामको संकेत र हर्मुज जलमार्ग खुला रहने आश्वासनले बजारमा सकारात्मक प्रभाव पारेको हो ।
त्यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर व्यावसायिक जहाजहरूलाई सुरक्षित र निर्बाध आवतजावतको अनुमति दिइने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उक्त कदमको स्वागत गरेका छन् ।
हर्मुज जलमार्ग इन्धन आपूर्तिको प्रमुख नाकामध्येको एक हो । यहाँबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास ढुवानी हुने गर्दछ ।
यो मार्ग खुलाको घोषणापछि विश्व सेयर बजारमा पनि सकारात्मक संकेत देखिएको छ । प्रमुख सूचकांकहरू उकालो लागेका छन्, जसले बजारमा सुधारको संकेत दिएको छ ।