काठमाडौँ । इरानले स्ट्रेट अफ हर्मुज पुन: बन्द गरेको छ । इरानको सेना (इस्लामिक रिभोलुसनरी गार्ड) ले अमेरिकाले ‘विश्वासको उल्लंघन’ गरेको भन्दै स्ट्रेट अफ हर्मुज पुन: बन्द गरिएको बताएको हो ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी जारी राखेपछि यस्तो कदम चालिएको इरानी सेनाको दाबी छ । इरानी सेनाको भनाइमा अमेरिकाले बारम्बार विश्वासघात गरेकाले जहाजहरूको आवागमनमा पुनः प्रतिबन्ध लगाउन इरान बाध्य भएको हो ।
केही सीमित तेल ट्यांकर र व्यापारिक जहाजहरूलाई ‘सद्भावना’ का रूपमा पार गर्न दिइए पनि समग्र रूपमा मार्गमा कडा निगरानी कायम गरिएको इरानले जनाएको छ । इरानले अब जलमार्गमा नयाँ नियन्त्रण संयन्त्र लागू गर्ने र सम्भावित ‘टोल’ प्रणालीमार्फत युद्धको क्षतिपूर्ति उठाउने संकेत समेत गरेको छ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न नभएसम्म नाकाबन्दी कायम रहने बताएका छन् । यसबाहेक ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी सुरु गर्ने धम्की समेत दिएका छन् ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामलाई लिएर होर्मुज नाका सबै व्यापारिक जहाजका लागि पूर्ण रूपमा खुला गरिएको घोषणा गरेका थिए । तर त्यसको केही घण्टामै इरानी पक्षले पुनः बन्द गर्ने निर्णयमा पुगेको छ।
हर्मुज खुला गरिएको घोषणापश्चात आजै मात्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो । यद्यपि, हर्मुजमा पुन: तनाव चर्किँने भएपछि कच्चा तेलको मूल्य फेरि आकासिने देखिन्छ ।