काठमाडौं । विश्वको कन्डम बनाउने सबैभन्दा ठूलो कम्पनी ‘केरेक्स’का सीईओले भनेका छन्, ‘यदि इरान युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या जारी रह्यो भने कम्पनीले आफ्ना उत्पादनहरूको मूल्य ३० प्रतिशतसम्म बढाउन सक्छ।’
कम्पनीका सीईओ गोह मिया कियातले समाचार एजेन्सी रोयटर्स र ब्लुमवर्गसँग कुरा गर्दै इरान संघर्ष सुरु भएपछि उत्पादन लागत निकै बढेको बताएका छन्।
मलेसियामा रहेको कम्पनी केरेक्सले हरेक वर्ष पाँच अर्बभन्दा बढी कन्डम बनाउँछ। यसले ड्युरेक्स र ट्रोजनजस्ता ठूला ब्रान्डहरूका लागि कन्डम तयार गर्नुका साथै बेलायतको सरकारी स्वास्थ्य सेवालाई पनि आपूर्ति गर्छ।
केरेक्सका सीईओका अनुसार यस वर्ष कन्डमको माग करिब ३० प्रतिशतले बढेको छ। तर ढुवानी भाडा वृद्धि र शिपिङमा ढिलाइ भएका कारण कन्डमको अभाव भइरहेको छ। उनले ब्लुमवर्गसँग भने, ‘खराब समयमा कन्डोमको आवश्यकता अझ बढ्छ किनभने भविष्यलाई लिएर अनिश्चितता हुन्छ। मानिसहरूलाई लाग्छ कि जागिर रहन्छ कि रहँदैन।’ मानिसहरू यसरी सोच्छन्, ‘यदि अहिले बच्चा भयो भने अर्को एक व्यक्तिको खर्च उठाउनुपर्ने हुन्छ।’
अमेरिका–इजरायल र इरानबीचको युद्धले ऊर्जा बजारलाई पहिले नै हल्लाइसकेको छ। र अब कन्डम संकटले के देखाउँछ भने आम उपभोक्ताका लागि अन्य चीजहरू पनि महँगो हुँदै गइरहेका छन्। यस युद्धका कारण उडानहरू पनि महँगो भएका छन्। नयाँ अनुसन्धानका अनुसार इकोनोमी क्लासको सबैभन्दा सस्तो टिकट गत वर्षको तुलनामा औसत २४ प्रतिशतले महँगो भएको छ।
यसबाहेक खाडी क्षेत्रबाट ढुवानीमा आएको समस्याका कारण रासायनिक मलको मूल्य बढेको छ। हिलियमको पनि अभाव भएको छ, जसको प्रयोग कम्प्युटर चिप बनाउन गरिन्छ। बोतलको पानी उद्योग पनि दबाबमा छ, किनभने कम्पनीहरूलाई कच्चा पदार्थ पाउन मुस्किल भइरहेको छ। यसै महिनाको सुरुमा संयुक्त राष्ट्र संघले चेतावनी दिएको थियो कि ढुवानी लागत बढेका कारण चिनी, दुग्धजन्य पदार्थ र फलफूलको मूल्य पनि बढ्नेछ।
इरान युद्धका बीच सम्झौताहरूका बारेमा दुवै पक्षबाट विरोधाभासी बयानहरू जारी छन्। अमेरिका र इरानबीच शान्ति वार्ताको स्थिति स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्, उनले युद्धविरामलाई तबसम्म बढाउनेछन् जबसम्म वार्ता अगाडि बढ्दैन।