काठमाडौँ । ८ बीमा कम्पनीका संस्थापक शेयरधनीहरु छानबिनको दायरामा आएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्समा संस्थापक शेयर खरिद गर्ने शेयरधनीहरुको कारोबार विवरण माग गरेको हो ।
यी ८ वटै विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर ग्रुप जोडिएको कम्पनीहरु हुन् । विभागले भट्टसँगै शंकर ग्रुपका सुलभ अग्रवालमाथि अनुसन्धान जारी राख्दा संस्थापक शेयरहरुको विवरण समेत मगाएको हो ।
विभागले ती कम्पनीहरूको स्थापना प्रक्रियामा संलग्न संस्थापक शेयरधनीहरूले शेयर खरिद गर्दा प्रयोग गरेको पूँजीको स्रोतबारे चासो देखाएको छ । संस्थापकहरूले चुक्ता पूँजीबाहेक थप प्रिमियमका रूपमा भुक्तानी गरेको रकम कहाँबाट आयो, कुन बैंक तथा वित्तीय संस्थाको खातामार्फत जम्मा गरियो र ती खाताहरू कसको नाममा छन् भन्ने विवरण माग गरेको हो ।
विभागले यी विवरणहरु १५ दिनभित्र उपलब्ध गराउन सम्बन्धित पक्षहरूलाई भनेको छ ।
