• २०८३ असार १३
  • 2026 June 27, Saturday

आर्थिक संकटमा परेको भन्दै वायुसेवा कम्पनीहरूले सरकारसँग मागे राहत

काठमाडौँ । दिन प्रतिदिन ठूलो आर्थिक संकटको चपेटामा पर्दै गइरहेको भन्दै वायुसेवा कम्पनीहरूले सरकारसँग विभिन्न छुट तथा सहुलियतको माग गरेका छन् । बिहीबार नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्यवृद्धि र नेपाल आउने पर्यटक घट्दा स्वदेशी वायुसेवा कम्पनीहरू आर्थिक प्रवाहमा ठूलो दबाब परेको भन्दै राहत दिन माग गरेका हुन् ।

पत्रमा वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा पहिले ३०-४० प्रतिशत रहँदै आएकोमा हाल इन्धनको मूल्य वृद्धि भएसँगै यो हिस्सा बढेर ५५-६० प्रतिशत पुगेको समेत उल्लेख छ ।

संघले वायुसेवा कम्पनीका लागि लाग्ने ल्याण्डिङ पार्किङ, नेभिगेसन, ह्याङ्गर, ह्याण्डलिङ, भाडा लगायतका अन्य सम्पूर्ण शुल्कहरूमा हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै कम्तीमा पनि ५० प्रतिशत छुट हुनुपर्ने माग राखेको छ ।

यस्तै, आन्तरिक उडानका वायुयानहरूले प्रत्येक उडान वा अवतरण वापत अमेरिकी डलर १० का दरले मौसमी सेवा शुल्क बुझाउनु पर्ने रहेको त्यसलाई संशोधन गर्न समेत आग्रह गरेका छन्।

हवाई सेवा उद्योग प्राथमिकता प्राप्त उद्योगमा समावेश भएतापनि हालसम्म पनि कुनै प्रोत्साहन, छुट, सुविधा उपलब्ध नभएकोले वर्गीकरण भए बमोजिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवालाई उद्योगको रूपमा आयकर ऐन बमोजिम पाइने २० प्रतिशत कर छुटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

यसबाहेक, नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूबाट उठाउने शुल्कहरू अमेरिकी डलरमा तोकिएको हुँदा उक्त शुल्क नेपाली रुपैयाँमा नै तोकिनु पर्ने संघको माग छ ।