• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल उद्योग वाणिज्य महासंघ अब अञ्जनको काँधमा

वैशाख २१ र २२ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारणसभाबाट अञ्जन श्रेष्ठ महासंघको नेतृत्व सम्हाल्दैछन् । तीन वर्षअघि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित श्रेष्ठले आफ्नो कार्यकालमा निजी क्षेत्रको मुद्दालाई सशक्त ढङ्गले उठाएका छन् ।

महासंघको वर्तमान कार्यसमितिले विधान संशोधन गरी अध्यक्ष पदमा पुनः प्रत्यक्ष निर्वाचन हुने व्यवस्था लागू गरिसकेको छ । यसको अर्थ वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने अवसर पाउने श्रेष्ठ नै अन्तिम व्यक्ति हुनेछन् । अर्को कार्यकालका लागि अध्यक्ष बन्न चाहनेले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । श्रेष्ठको यो कार्यकाललाई महासंघको इतिहासमा विशेष महत्वका साथ हेरिएको छ ।

अञ्जन श्रेष्ठ नेपालको व्यावसायिक घराना ‘लक्ष्मी ग्रुप’का निर्देशक हुन् । लक्ष्मी ग्रुप नेपालको औद्योगिक इतिहासमा एक सफल र विश्वसनीय नाम हो । लक्ष्मी इन्टरकन्टिनेन्टल (हुण्डाई गाडीको आधिकारिक विक्रेता) मार्फत उनको समूहले नेपालको अटोमोबाइल क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको छ । चाउचाउ, सप्लायसदेखि हुण्डाई ब्राण्डलाई नेपालमै एसेम्बल गरेर अटोमोबाइल उद्योगमा यो समूहले नेपालमा नयाँ मानक स्थापना गरेको छ । नेपालमा चारपांग्रे गाडी पहिलोपटक एसेम्बल यही समूहले नै गरेको हो । सुरुमा भेन्यू उत्पादन गरेको समूहले पछि क्रेटा पनि उत्पादन गर्‍यो । भारतबाट आयातित गाडीभन्दा नेपालमै बनेको भेन्यूको मूल्य साढे ४ लाख र क्रेटाको मूल्य ९ लाख रुपैयाँ सस्तो रहेको छ ।

अटोमोबाइल क्षेत्रमा यो समूहले हुण्डाईबाहेक अन्य ब्राण्डलाई पनि नेपालमा स्थापित गरिरहेको छ । कन्फेक्सनरी उत्पादनमा पनि यो समूहले अग्रणी पहिचान स्थापित गरिसकेको छ । दूध, प्लास्टिक, इलेक्ट्रोनिक्स, स्टिललगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । यही बहुआयामिक अनुभवले श्रेष्ठलाई उद्योगी र व्यापारी दुवैका समस्या नजिकबाट बुझ्ने र समाधान गर्ने खुबी प्रदान गरेको छ ।

सच्चिने र सुधार्ने सङ्कल्प

अञ्जन श्रेष्ठ हालको अर्थतन्त्रलाई परम्परागत ढङ्गले मात्र हेर्नुहुँदैन भन्ने मान्यता राख्छन् । उनी भन्छन्, “देशमा राजनीतिक परिवर्तन र पुस्तान्तरण भइसकेको छ, अब सोचमा पनि परिवर्तन आवश्यक छ ।”

श्रेष्ठको मुख्य चिन्ता नेपालको उच्च ‘कस्ट अफ डुइङ बिजनेस’ (व्यावसायिक लागत) मा छ । छिमेकी मुलुकहरूको तुलनामा नेपालको पूर्वाधार, कर प्रणाली र भौगोलिक चुनौतीका कारण उत्पादन लागत महँगो भएको उनको ठम्याइ छ । यसलाई घटाउन उनले नीतिगत पैरवीलाई प्राथमिकता दिनेछन् भन्ने विश्वास निजी क्षेत्रले लिएको छ । उनी सरकारी र निजी दुवै क्षेत्रमा ‘डिजिटलाइजेशन’को वकालत गर्छन् । “अनलाइन सेवाले पारदर्शिता बढाउँछ र अनियमिता घटाउँछ,” भन्ने उनको विश्वास छ । निजी क्षेत्रलाई अपराधीजस्तो व्यवहार गर्ने वा त्रास देखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने र सरकार व्यवसायीको ढोकामा सहयोग गर्न आउनुपर्ने उनको माग छ ।

नीतिगत सुधार र वाचापत्र

२०७९ मा महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने क्रममा श्रेष्ठले आफ्नो ‘वाचापत्र’ सार्वजनिक गर्दै निजी क्षेत्रलाई जीवन्त र जिम्मेवार बनाउने प्रतिबद्धता जनाएका थिए । अञ्जन श्रेष्ठले ‘जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ को नारासहित उत्पादनमुखी अर्थतन्त्रको निर्माण र व्यावसायिक हकहित संरक्षणलाई मुख्य एजेण्डा बनाएका थिए । उनका प्रमुख प्रतिबद्धताहरूमा सरकार र निजी क्षेत्रबीचको समन्वयकारी भूमिका स्थापित गर्ने, नीतिगत अस्पष्टता हटाउन पैरवी गर्ने र झन्झटिलो कर प्रणाली तथा प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उल्लेख थिए । उनी आफ्ना ती चुनावी एजेण्डामा आज पनि प्रतिबद्ध छन् भन्ने पुष्टि उनले विभिन्न फोरमहरूमा उठाउने गरेका विचारहरूले पनि पुष्टि गरिसकेका छन् ।

उनले घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्द्धन, युवा उद्यमी र स्टार्टअपलाई सहजीकरण तथा आन्तरिक उत्पादन बढाएर आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्ने संकल्प गरेका छन् । तरलता अभाव र उच्च ब्याजदर जस्ता विद्यमान वित्तीय समस्या समाधान गर्न पहल गर्ने, लगानीमैत्री वातावरणका लागि ‘कन्ट्री रेटिङ’ र ‘हेजिङ’ जस्ता व्यवस्था लागू गराउने र दक्ष जनशक्ति विकास गरी वैदेशिक रोजगारीको निर्भरता घटाउने उनको योजना छ । समग्रमा महासंघलाई एक सशक्त, प्रभावकारी र नतिजामुखी संस्था बनाउने उनको लक्ष्य छ ।

सरकारसँगको सहकार्य र अपेक्षा

वर्तमान राजनीतिक परिदृश्यमा नयाँ सरकार र अर्थतन्त्र बुझेका अर्थमन्त्रीको आगमनलाई श्रेष्ठले सकारात्मक रूपमा लिएका छन् । निर्वाचनका बेला दलहरूले निजी क्षेत्रप्रति गरेका प्रतिबद्धताहरू पूरा हुनुपर्ने उनको जोड छ । “हामी आशावादी छौं र सकारात्मक सोचका साथ अगाडि बढेका छौं,” उनी भन्छन् । सरकारले आफैं उद्योग चलाउनुभन्दा निजी क्षेत्रलाई सहज वातावरण र प्रोत्साहन दिनुपर्ने उनको स्पष्ट मान्यता छ । उनी निजी क्षेत्रलाई राज्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्न चाहन्छन् ।

अञ्जन श्रेष्ठको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघले एक परिपक्व, प्रतिबद्ध र नीतिगत रूपमा स्पष्ट नेतृत्व पाउने अपेक्षा गरिएको छ । लक्ष्मी ग्रुपको व्यवस्थापकीय अनुभव र महासंघको विभिन्न तहमा रहेर गरेका कामले उनलाई सफल अध्यक्षका रूपमा स्थापित गर्ने विश्वास गर्न सकिन्छ ।

– एफएनसीसीआई विशेषाङ्क आर्थिक आवाजबाट ।