• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एनआईएमबीका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।

अदालतले पाण्डेलाई उनले रोजेको कुनै एक वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा थुनामुक्त गर्न आदेश दिएको हो। यद्यपि, सर्वोच्चले विदेश जानुपरे अदालतको अनुमति लिएर मात्रै जान पाउने आदेश गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्रीसम्बन्धी प्रकरणमा आपराधिक विश्वासघात लगायतका कसुरको आरोपमा पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो।

पक्राउपछि उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।