काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको छ। केन्द्रीय बैंकले न्यून आर्थिक वृद्धिको अवस्था, विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपणलाई आधार मान्दै आर्थिक वर्षको सुरुदेखि लागू गरिएको लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको जनाएको हो।
समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्था परिवर्तन नगरी कायम राखिएको छ। तर, ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको ‘स्ट्यान्डिङ डिपोजिट फेसिलिटी’ अर्थात् स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अपेक्षा गरेको छ। प्रतिकूल मौसम र प्राकृतिक विपद्का कारण कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिए पनि उद्योग क्षेत्र ५.६७ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ।
केन्द्रीय बैंकका अनुसार कुल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढ्दो क्रममा रहेको छ। थोक तथा खुद्रा व्यापार, पर्यटन, जलविद्युत्, वित्तीय तथा बिमा सेवा, यातायात, भण्डारण तथा सूचना प्रविधि क्षेत्रमा विस्तार भइरहेकाले समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारलाई प्राथमिकता दिएकाले मौद्रिक नीतिको हालको कार्यदिशाले लगानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ।
राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा तल रहे पनि विश्वव्यापी भूराजनीतिक तनावका कारण मूल्यवृद्धिमा दबाब पर्ने जोखिम कायम रहेको जनाएको छ। विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ, उद्योगका कच्चापदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा असर परेको उल्लेख गरिएको छ। फागुन १६ देखि वैशाख मसान्तसम्म पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको तथ्य पनि समीक्षामा समावेश गरिएको छ।
यद्यपि, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशतमा सीमित रहेको र वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्रै रहने प्रक्षेपण गरिएको छ। विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेकाले चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति सकारात्मक अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ। तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले त्यहाँको तनावले विप्रेषण, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिमा दबाब सिर्जना गर्न सक्ने जोखिम पनि औँल्याइएको छ।
समीक्षामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढेको उल्लेख गर्दै आर्थिक गतिविधिमा सुधारसँगै त्यसमा पनि क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। २०८२ चैत मसान्तसम्म प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्र रहेको जनाउँदै राष्ट्र बैंकले समग्र वित्तीय स्थायित्व कायम रहेको दाबी गरेको छ।