• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यी चारमध्ये एक जना बन्ने छन् धितोपत्र बोर्डको अध्यक्ष

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तर्गत गठन गरिएको सिफारिस समितिले ४७ आवेदकमध्येबाट चार जनाको नाम अन्तिम चरणका लागि छनोट गरेको छ । समितिको प्रारम्भिक मूल्याङ्कनपछि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट संक्षिप्त सूचीमा परेका हुन् ।

संक्षिप्त सूचीमा परेका अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने आचार्य हाल बोर्डमै कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । क्षेत्री र भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । क्षेत्रीले यसअघि राष्ट्र बैंकको तर्फबाट सेबोन सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए ।

छनोटमा परेका उम्मेदवारलाई आगामी जेठ ८ गते अर्थ मन्त्रालयमा हुने प्रस्तुतीकरण तथा छलफलका लागि बोलाइएको समितिले जनाएको छ । उक्त छलफलपछि समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सिफारिस हुनेमध्येबाट एक जनालाई सरकारले बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

सेबोन अध्यक्ष पद पूँजी बजारको नियमन, लगानीकर्ता संरक्षण तथा बजार विस्तारसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसपटकको चयन प्रक्रियालाई चासोका साथ हेरिएको छ ।

यसअघि समितिले इच्छुक व्यक्तिबाट आवेदन माग गर्दा विभिन्न क्षेत्रका अर्थविद्, बैंकिङ तथा पूँजी बजारसँग सम्बन्धित विज्ञसहित ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट अनुभव, योग्यता र कार्यसम्पादनका आधारमा चार जनालाई अन्तिम चरणका लागि छनोट गरिएको समितिले जनाएको छ ।