काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्व चयनपछि अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ । महासंघको ६०औँ वार्षिक साधारणसभाबाट अञ्जन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएपछि संशोधित विधानअनुसार बाँकी पदाधिकारी चयन प्रक्रिया आगामी जेठ ८ गते (शुक्रबार) हुने तय गरिएको हो ।
महासंघका अनुसार शुक्रबार बिहान केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेपछि सात जना सदस्य मनोनित गरिनेछन् । मनोनित सदस्यहरूलाई समेत मताधिकार दिइने भएकाले सोही दिन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको निर्वाचन हुनेछ । विधानमा अध्यक्षले विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै कम्तीमा दुई महिलासहित सात सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ ।
संशोधित विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने पुरानो व्यवस्था हटाएको छ भने अब आगामी कार्यकालमा अध्यक्ष पद प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनेछ । यद्यपि, संक्रमणकालीन व्यवस्थाअन्तर्गत अञ्जन श्रेष्ठ भने वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघभित्र बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन हेमराज ढकाल र भरतराज आचार्यतर्फ रहेको चर्चा छ भने अध्यक्ष अञ्जन श्रेष्ठ सुरकृष्ण वैद्य वा किशोरलाल प्रधानमध्ये एकलाई अघि सार्ने तयारीमा रहेको बताइन्छ । एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले भने रामचन्द्र संघाईलाई समर्थन गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्षको दौडमा सुरकृष्ण वैद्य, हेमराज ढकाल, रामचन्द्र संघाई, किशोरलाल प्रधान र भरतराज आचार्य सक्रिय देखिएका छन् । चुनावअघि एउटै प्यानलमा रहेका नेताहरू अहिले फरक–फरक धारमा उभिएपछि महासंघभित्र त्रिपक्षीय समीकरण बनेको छ ।
सुरकृष्ण वैद्यले जिल्ला तथा नगरतर्फका सदस्यहरूको बलियो समर्थन रहेको दाबी गर्दै आफू प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन् ।
यता, कोषाध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल, भक्त हमाल र मनिषलाल प्रधानको नाम चर्चामा छ । मनिषलाललाई उम्मेदवार बन्नका लागि पहिले केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ ।
संशोधित विधानले यसपटक प्रदेश अध्यक्षहरूलाई पनि मतदान अधिकार दिएको छ । त्यसका लागि आवश्यक नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ । आकांक्षीको संख्या धेरै भएकाले सहमतिभन्दा निर्वाचनमार्फत नै पदाधिकारी चयन हुने सम्भावना बलियो देखिएको छ ।