• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उपभोक्ताको स्वास्थ्यमाथि डाबरको गम्भीर खेलवाड, ‘न्यूनस्तर’को मह बेचेको खुलासा !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालले उत्पादन गरेको ‘हनी’ गुणस्तरहीन भेटिएको भन्दै उपभोक्तालाई प्रयोग नगर्न आग्रह गरेको छ। विभागले उक्त उत्पादन बजारबाट तत्काल फिर्ता (रिकल) गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को धज्जी उडाउँदै उपभोक्ताको भान्सामा गुणस्तरहीन मह पुर्‍याएको भन्दै विभागले ब्याच नं. NB00477 भएको ५०० ग्रामको डाबर हनीलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको हो।

विभागको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको मह सरकारले तोकेको न्यूनतम मापदण्ड पनि पूरा नगरेको (न्यूनस्तर) पाइएको हो।

विभागले सम्बन्धित कम्पनीलाई उक्त ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता ल्याउन र थप बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। साथै, उपभोक्तालाई पनि उक्त उत्पादन प्रयोग नगर्न आग्रह गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय बजारमा खाद्य वस्तुको गुणस्तर परीक्षणलाई कडाइ गर्दै आएको जनाएको छ।