• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१० महिनाको वैदेशिक व्यापार: १५७ देशसँग व्यापार, १४ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामै नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि वैशाख मसान्तसम्ममा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक व्यापार १४.७५ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा विदेशबाट आयात गरेको छ भने निर्यात केवल २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँमा सीमित छ ।

यसले गर्दा मुलुकले १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । यस वर्ष व्यापार घाटा झण्डै १५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

यो अवधिमा नेपालले १५७ देशसँग व्यापार गरेको छ । तीमध्ये ३४ देशसँग व्यापार नाफामा रहँदा १२३ देशसँग घाटामा भएको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ भने डेनमार्कसँग नेपालले सबैभन्दा बढी व्यापार नाफा गरेको देखिन्छ ।

विभागका अनुसार चालु आवमा आयात १४.८२ प्रतिशतले बढेको छ भने निर्यात पनि १४.२५ प्रतिशतले वृद्धि भएको छ । आयात र निर्यात दुवै बढेपनि आयात अत्यधिक भएकाले व्यापार असन्तुलन अझै बढेर गएको छ ।

नेपालको कुल व्यापारमा आयातको हिस्सा ८७.१८ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२.८२ प्रतिशत मात्रै छ ।

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, सवारीसाधन, इलेक्ट्रोनिक सामग्री, औद्योगिक कच्चापदार्थ तथा दैनिक उपभोग्य वस्तुको आयात भएको छ भने तयारी पोशाक, हस्तकला, चिया, अलैंची, जडीबुटी जस्ता वस्तु तथा उत्पादन निर्यात भएको छ ।