काठमाडाैं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्तरको ‘संघ शिक्षा वर्ग २०८३’ को उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित माकाजु समाज कल्याण संघको भवनमा उक्त विशेष कार्यक्रमको उद्घाटन गरिएको हो।
समारोहमा बागमती प्रदेशका समाज विकास मन्त्री माननीय कञ्चन बादी मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, हिन्दू स्वयंसेवक संघ नेपालका माननीय राष्ट्रिय संघचालक कल्याण कुमार तिमिल्सिनाको कार्यक्रममा विशिष्ट उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा सनातन धर्मका अगुवाहरू, नागरिक समाजका प्रतिनिधिहरू, संघका वरिष्ठ पदाधिकारीहरू तथा विभिन्न विधाका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो। यस आवासीय प्रशिक्षण वर्गमा भाग लिन नेपालका विभिन्न जिल्लाहरूबाट उत्साहजनक संख्यामा स्वयंसेवक प्रशिक्षार्थीहरू धुलिखेल आइपुगेका छन्।
हिन्दू स्वयंसेवक संघ नेपालको संघ शिक्षा वर्ग स्वयंसेवकहरूको सर्वाङ्गीण विकासका लागि सञ्चालित एउटा अत्यन्तै व्यवस्थित र कडा अनुशासनयुक्त आवासीय प्रशिक्षण हो। १५ दिनसम्म चल्ने यस वर्गमा प्रशिक्षार्थीहरूलाई शारीरिक रूपमा सक्षम बनाउन दैनिक योग, सूर्य नमस्कार, व्यायाम र आत्मरक्षाको कला (नियुद्ध) सिकाइन्छ।
यसै शारीरिक प्रशिक्षण अन्तर्गत खेलका माध्यमबाट स्वयंसेवकहरूमा आपसी आत्मीयता, सहकार्य र सामाजिक समरसताको प्रत्यक्ष अनुभूति गराइन्छ, जसले जातजाति र क्षेत्रका कृत्रिम पर्खालहरू भत्काएर सबैलाई एउटै सूत्रमा बाँध्न मद्दत गर्छ। यसका साथै, उनीहरूमा राष्ट्रिय चेतना र वैचारिक स्पष्टता ल्याउन धर्म, सनातन संस्कृति, गौरवशाली इतिहास, महापुरुषहरूको जीवनी तथा वर्तमान समसामयिक विषयहरूमा गहन बौद्धिक परिचर्चा र प्रवचनहरू गराइन्छ।
कठोर दिनचर्या, सामूहिक जीवन र निस्वार्थ सेवाभावको व्यावहारिक अभ्यासले स्वयंसेवकहरूमा व्यक्तिगत सुचिता, अनुशासन र सामाजिक भाइचाराको विकास गर्छ। समग्रमा, यो वर्गले व्यक्तिमा देशप्रेमको भावना जागृत गराउँदै राष्ट्र र समाजको उन्नतिका लागि समर्पित, अनुशासित र दक्ष नागरिक निर्माण गर्ने मुख्य उद्देश्य राखेको हुन्छ।