• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बजेटअघि सेयर बजारमा ६ अर्ब रुपैयाँ माथि कारोबार

काठमाडौँ । बजेट घोषणाको पूर्वसन्ध्यामा सेयर बजारमा लगानीकर्ताको सक्रियता फेरि बढ्न थालेको संकेत देखिएको छ। केही सातायता सुस्त बनेको कारोबार बुधबार उल्लेख्य रूपमा उकालो लाग्दै दैनिक कारोबार रकम ६ अर्ब रुपैयाँमाथि पुगेको हो।

वैशाख मध्यपछि लगातार दबाबमा रहेको कारोबार रकम बुधबार ६ अर्ब ३ करोड रुपैयाँ पुगेपछि बजारमा पुनः चलायमान अवस्था फर्किन थालेको विश्लेषण गरिएको छ। यसअघि वैशाख १५ गतेपछि कारोबार रकमले ६ अर्बको सीमा पार गर्न सकेको थिएन।

कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने सामान्य सुधार मात्रै देखियो। सूचक ४.९९ अंकले बढेर २७८२ बिन्दुमा बन्द भयो। बजारमा अधिकांश कम्पनी सकारात्मक देखिए; १५१ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनी घटे भने १४ कम्पनी स्थिर रहे।

समूहगत प्रदर्शन मिश्रित रह्यो। बैंकिङ, बीमा, लगानी तथा माइक्रोफाइनान्स समूहमा हरियाली देखिँदा होटल, फाइनान्स र उत्पादन समूहमा दबाब कायम रह्यो। जलविद्युत् कम्पनीहरूमा भने लगानीकर्ताको आकर्षण उल्लेख्य देखियो।

विशेषगरी हालै सूचीकृत कालिन्चोक हाइड्रोपावरको सेयरमा उच्च खरीदचाप देखिँदा यसको मूल्य करिब १५ प्रतिशतले उकालो लाग्यो। बुंगल हाइड्रोले पनि दोहोरो अंकको वृद्धि दर्ज गर्‍यो। त्यस्तै आँखुखोला जलविद्युत्, माथिल्लो मैलुङखोला र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्समा पनि उल्लेख्य कारोबार र मूल्य वृद्धि देखियो।

कारोबार रकमका हिसाबले आँखुखोला जलविद्युत् सबैभन्दा अगाडि रह्यो। कम्पनीको मात्रै करिब ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। रिडी पावर, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुपमा पनि लगानीकर्ता सक्रिय देखिए।

यद्यपि ऋणपत्रतर्फ भने बिक्रीचाप कायम रह्यो। विशेषगरी सानिमा बैंक डिबेन्चर २०८९ को मूल्य उल्लेख्य रूपमा घटेको छ।

बजार विश्लेषकहरूका अनुसार आगामी बजेटमा पूँजी बजारसँग सम्बन्धित नीतिगत संकेत आउने अपेक्षाले लगानीकर्ताको मनोबल केही सुधारिएको देखिन्छ।