• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देशभर २० हजार किमी सडक कालोपत्रे, ७ हजार ग्राभेल र ८ हजार कच्ची

काठमाडौँ । आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी २० हजार ४ सय ५६ किलोमिटर कालोपत्रे, ७ हजार ६ सय २ किलोमिटर ग्राभेल र ८ हजार ७ सय ४८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाई ३६ हजार ८ सय ६ किलोमिटर पुगेको देखाएको छ । २०८२ असारसम्म २० हजार ४३ किलोमिटर कालोपत्रे, ७ हजार ५ सय ११ किलोमिटर ग्राभेल र ८ हजार ६ सय ७२ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाई ३६ हजार २ सय २६ किलोमिटर रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा ३०१ किलोमिटर कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ । त्यसैगरी यस अवधिमा २८७ किलोमिटर ग्राभेल स्तरमा, १ हजार २ सय ३५ किलोमिटर कालोपत्रेस्तरमा र २६ किलोमिटर सडक कंक्रिट ढलान निर्माण भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म ७६ किलोमिटर कच्ची सडक (नयाँ सडक) निर्माण भएको छ । यस अवधिमा ११ किलोमिटर ग्राभेल स्तरमा र ४१३ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको छ । त्यसैगरी, ६३.३ किलोमिटर सडकको आवधिक मर्मत भएको छ । साथै, १०२ पुलको निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय गौरवका तथा अन्य सडक आयोजनातर्फ मध्यपहाडी (पुष्पलाल) लोकमार्गको १ हजार ८ सय ७९ किलोमिटरमध्ये २०८२ असारसम्म १ हजार ५ सय १० किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप १९ किलोमिटर सडक कालोपत्रे भई १ हजार ५ सय २९ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८२ फागुनसम्म ११४ पुलको निर्माण सम्पन्न भएको छ ।

हुलाकी लोकमार्गको १ हजार ८ सय ५७ किलोमिटरमध्ये २०८२ असारसम्म १ हजार ३ सय ५२ किलोमिटर (लिङ्क सडक सहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २१ किलोमिटर सडक कालोपत्रे भई १ हजार ३ सय ७१ किलोमिटर पुगेको छ । यस अन्तर्गतका २५० पुलमध्ये २०८२ फागुनसम्म १४३ पुलको निर्माण सम्पन्न भएको छ ।

उत्तर-दक्षिण लोकमार्ग कालीगण्डकी कोरिडोर (४५४ किलोमिटर) अन्तर्गत गैडाकोट-राम्दी-मालढुङ्गा खण्ड (२९३ किलोमिटर) सडकखण्डमध्ये २०८२ फागुनसम्म १२१ किलोमिटर सडक कालोपत्रे तथा ३६ पुलको निर्माण सम्पन्न भएको छ । २०८२ असारसम्म मालढुङ्गा-बेनी-जोमसोम-कोरला खण्ड (२०२ किलोमिटर) अन्तर्गत ७९ किलोमिटर सडक ग्राभेल स्तरको, ५९ किलोमिटर सडक कालोपत्रेस्तरमा स्तरोन्नति र १५ पुलको निर्माण सम्पन्न भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म यस खण्डमा थप ६ किलोमिटर सडक कालोपत्रे भई २०८२ फागुनसम्म कालोपत्रे सडकको लम्बाई ८७ किलोमिटर पुगेको छ । साथै, यस अवधिसम्म १६ पुल निर्माण सम्पन्न भएको छ ।

कर्णाली कोरिडोर (२६१ किलोमिटर) अन्तर्गत २०८२ असारसम्म २६८.८ किलोमिटर ट्रयाक निर्माण भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ०.२ किलोमिटर थप ट्रयाक निर्माण भई सम्पूर्ण ट्रयाक निर्माण सम्पन्न भएको छ । यस कोरिडोर अन्तर्गत हालसम्म ४५.५ किलोमिटर ग्राभेल सडकको निर्माण सम्पन्न भएको छ । २०८२ फागुनसम्म कोरिडोर अन्तर्गत लालिसाँघुदेखि दुल्लुका ११.० किलोमिटर र यार्चाचौर, बरिसेगाउँदेखि स्याफ्रुबेंसी खण्डको ७.९ किलोमिटर गरी १८.९ किलोमिटर नयाँ ट्रयाकको निर्माण सम्पन्न भएको छ ।

कोशी कोरिडोर (१६२ किलोमिटर) अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म थप १४ किलोमिटर सडक कालोपत्रे भएको छ भने थप ११ पुलको निर्माण सम्पन्न भएको छ ।