• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अब पूँजीगत लाभकर नै अन्तिम हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त लाभमा लाग्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने व्यवस्था गरिएको जानकारी दिएका हुन्।

यस व्यवस्थासँगै लगानीकर्ताले सेयर कारोबारबाट कमाएको नाफामा पूँजीगत लाभकर तिरेपछि सो आम्दानीमा थप कर लाग्ने छैन। साथै, उक्त आयलाई व्यक्तिगत आयकरको दायरामा समेत गणना गरिने छैन। लामो समयदेखि विवाद र अन्योलको विषय बनेको पूँजीगत लाभकरको विषयलाई सरकारले स्पष्ट रूपमा अन्तिम करका रूपमा परिभाषित गरेको हो।

अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक उत्पादनमा आएको सुस्तता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रति घट्दो विश्वास अहिलेका प्रमुख आर्थिक चुनौती रहेको उल्लेख गरे। उनले यस्ता चुनौती समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

सरकारको यो घोषणाले विशेषगरी पुँजी बजारका लगानीकर्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। बजारमा करसम्बन्धी अन्योल हटेपछि लगानी वातावरण थप स्पष्ट र व्यवस्थित बन्ने विश्वास छ।