काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुने निर्वाचनमा २ प्रमुख समूहबीच प्रतिस्पर्धा हुने भएको छ। २४ सदस्यीय कार्यसमितिका विभिन्न पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् भने ऊर्जा क्षेत्रका प्रभावशाली उद्यमीहरू आफ्ना-आफ्ना एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार इप्पानमा ६८३ मतदाता रहेका छन्। निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव, एक कोषाध्यक्ष, सात खुला सदस्य र तीन महिला सदस्य चयन हुनेछन्।
यसपटक वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडा आमनेसामने भएका छन्। उपमहासचिव पदमा भने कविता पोखरेलको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुने निश्चित भएको छ।
उपाध्यक्षका पाँच पदका लागि नौ जना उम्मेदवार मैदानमा छन्। महासचिव पदमा टेकनाथ आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुने भएको छ भने कोषाध्यक्षमा मिथुन पौडेल र शंकर बस्याल चुनावी दौडमा छन्। सदस्य र महिला सदस्य पदमा पनि उल्लेख्य प्रतिस्पर्धा देखिएको छ।
उत्तम भ्लोन लामाको समूहले ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै ऊर्जा क्षेत्रका नीतिगत सुधार, लगानी प्रवर्द्धन र विद्युत् व्यापार विस्तारलाई प्राथमिकता दिएको छ। समूहले रोकिएका १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पीपीए खुलाउने, ‘टेक एन्ड पे’ व्यवस्था पुनरावलोकन गरी ‘टेक अर पे’ सुनिश्चित गर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने तथा वन तथा वातावरणीय स्वीकृति प्रक्रियालाई सरल बनाउने प्रतिबद्धता जनाएको छ।
यस्तै, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउने, जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष पुर्याउन पहल गर्ने, ऊर्जा क्षेत्रमा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा भारत र बंगलादेशतर्फ विद्युत् निर्यात बढाउन कूटनीतिक पहल गर्ने योजना पनि समूहले अघि सारेको छ।
बलराम खतिवडा नेतृत्वको समूहले इप्पानलाई सबै ऊर्जा उद्यमीहरूको साझा र बलियो संस्था बनाउने एजेन्डा अघि सारेको छ। समूहले सचिवालयमा हेल्पडेस्क स्थापना, विज्ञहरूको उपसमिति गठन, तीन वर्षभित्र इप्पानको आफ्नै भवन निर्माण तथा सदस्य कम्पनीका समस्या समाधानलाई प्राथमिकतामा राखेको जनाएको छ।
खतिवडा समूहले पीपीएका लागि आवेदन दिएका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको सम्झौता तत्काल खुलाउन पहल गर्ने, प्रसारण लाइन ढिलाइका कारण उत्पादकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति सुनिश्चित गराउने तथा निजी क्षेत्रलाई प्रसारण लाइन र सबस्टेशन निर्माणमा सहभागी गराउन सरकारमाथि दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसबाहेक, इप्पानको साधारणसभामा संस्थाको विधान संशोधन प्रस्ताव पनि पेश गरिने भएको छ। हालको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहे पनि त्यसलाई हटाएर अध्यक्ष पदमा प्रत्यक्ष प्रतिस्पर्धाको व्यवस्था गर्ने प्रस्ताव अघि सारिएको छ। संशोधन पारित भएमा आगामी कार्यकालदेखि अध्यक्ष पदमा पनि खुला प्रतिस्पर्धा हुने बाटो खुल्नेछ।
वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी विधान अनुसार अध्यक्ष बन्दै छन ।
