काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएका छन् ।
करिब ४८ वर्षदेखि कम्युनिष्ट आन्दोलनका विभिन्न चरणमा निरन्तर सहभागी हुँदै आएका महराले लामो समयको राजनीतिक यात्रापछि अब स्वास्थ्य अवस्थाका कारण सक्रिय भूमिकाबाट अलग हुने निर्णय गरेको बताएका छन् ।
उनले आफूले विभिन्न आन्दोलन, संगठनात्मक परिवर्तन र संघर्षका चरणमा पार्टी, देश र जनताको सेवामा जीवनको महत्वपूर्ण समय समर्पण गरेको स्मरण गरेका छन् । महराले पछिल्ला केही वर्षयता नसासम्बन्धी र मांसपेशी क्रमशः खुम्चिने प्रकारको रोगबाट पीडित रहेको बताएका छन् । नियमित उपचार, थेरापी र औषधि सेवन जारी रहे पनि स्वास्थ्यले अपेक्षित साथ नदिँदा पार्टीका दैनिक गतिविधि र जिम्मेवारी सम्हाल्न कठिन हुँदै गएको उनले उल्लेख गरेका छन् ।
यसै परिस्थितिलाई ध्यानमा राख्दै उनले आजैदेखि सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानकारी दिएका छन् । यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक फरकका कारण नभई पूर्ण रूपमा स्वास्थ्य बाध्यताका कारण भएको उनले स्पष्ट गरेका छन् ।
महराले आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन् । साथै, उनले देश र जनताप्रतिको आफ्नो भावना र समृद्ध नेपालको सपना अन्तिमसम्म रहने बताएका छन् ।
उनले नयाँ पुस्ताले देशलाई अझ समृद्ध र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामा नै पुरानो पुस्ताको संघर्षको सार्थकता देखिने उल्लेख गरेका छन् ।